६५ जना दलितलाई ‘पूर्णबहादुरको सारङ्गी’ देखाउन किन लगे ?

दाङ । तुलसीपुर उपमहानगरपालिका – ११ नम्बर वडाध्यक्ष मानबहादुर रावत मङ्गलबार वडाका ६५ जना दलितलाई भेला गरि घोराहीको सौडीस्थित चलचित्र हल पुगे । वडाध्यक्षले उनीहरूलाई बस रिजर्भ गरि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देखाउन लगे । वडाको बजेट झन्डै ३९ हजार हाराहारी खर्चिएर उनीहरूलाई किन अध्यक्ष रावतले सिनेमा हलमा लगेका हुन रु यो प्रश्न गरि नसक्दै उनले स्पष्टिकरण दिए – दलित सशक्तिकरणमा त्यो सिनेमा हेरेपछि केही न केही सहयोग पुग्ला भनेर सिनेमा देखाउन लगिएको हो ।
वडाध्यक्ष रावतले चलचित्र हेर्न गएका सबै दलित समुदायका व्यक्तिहरूले चलचित्र बाट राम्रो शिक्षा मिलेको र छोरा छोरीको शिक्षामा प्राथमिकता दिन जरुरी रहेछ भन्ने कुरा आफुसँग व्यक्त गरेको बताए । गाडी रिजर्भसहित उनीहरूलाई सबैको सिनेमा हेर्ने टिकेट पनि वडा कार्यालय आफैले बेहोरेको थियो ।
उनीहरूका लागि खाजाको प्रबन्ध गर्दा लाग्ने खर्च सबै वडा कार्यालयले नै बेहोरेको हो । ६५ जनालाई सिनेमा देखाउन टिकेटसहित कुल खर्च ३० हजार जति खर्च भएको अनुमान वडाध्यक्ष रावतले व्यक्त गरे ।वडाध्यक्ष रावतसहित वडासचिव , राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई पनि चलचित्र देखाउन लगिएको थियो । तुलसीपुर – ११ का एक जना नेपाली काँग्रेसका नेताले भने वडा कार्यालयले आफ्नै खर्चमा वडाका दलित समुदायका मानिसहरूलाई सिनेमा देखाउन लैजानु वडाको सम्पत्तिको दुरुपयोग भएको टिप्पणी गरे ।
‘ वडाध्यक्ष आफै कार्यकारी हुन र उनको काँधमा धेरै यस्ता समाजसुधार जिम्मेवारीहरू हुन्छन्,’ नाम नभन्ने सर्तमा उनले भने ‘ वडाध्यक्ष आफैले पुरा गर्नुपर्ने जिम्मेवारी सिनेमा देखाई दिएको छु ल अब तिमीहरूले त्यही अनुरूप गर भनेर भन्न र पंक्षिन कसरी मिल्छ ? ’ साथै ती काँग्रेस नेताले नाम नभन्ने सर्तमा सिनेमा हेरेपछि वडाका दलित समुदायमा मानिसहरूमा कस्तो छाप प¥यो तथा उनीहरूले के शिक्षा ग्रहण गरे भन्ने कुरा भन्न मुस्किल हुने प्रतिक्रिया दिए ।
‘वडा कार्यालयले सिनेमा हेर्न लगेका दलित समुदायका मानिसहरूसँग मैले प्रतिक्रिया लिन पाएको छैन,’ उनले भने ‘ मलाई लाग्छ दलितको नाममा जनप्रतिनिधि र कर्मचारीले सिनेमा हेर्ने आफ्नो रहर पुरा गरे कि र ? ’ राज्यले आफैले वडामा गर्नुपर्ने सुधार र जिम्मेवारीका कामहरू थुप्रै रहेको हुँदा वडाध्यक्षले त्यसमा ध्यान दिन जरुरी रहेको उनले बताए ।