बुवाआमाको किरिया गर्न भाडामा मान्छे राख्नुपर्ने अवस्था आयो : नगर प्रमुख खड्का

दाङ । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले सेवाभावको सन्देशका साथ विद्यालयमा जान जुनियर रेडक्रसलाई आग्रह गरे । दाङको तुलसीपुर भएको लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षको भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले पछिल्लो समय विद्यार्थीहरुमा सेवाभाव घट्दै गएको बताए । विद्यार्थीमा नेपालमै बसेर देशकमो सेवा गर्नुपर्छ भन्ने भावना नभएको भन्दै सेवाभावको सन्देश लगेर जुनियर रेडक्रस हरेक विद्यालयमा जानुपर्ने बताए ।
‘क्याम्पस पढ्न थालेको विद्यार्थीले विदेश पलायन हुने मानसकिता बनाउने गरेका छन् ।’ नगर प्रमुख खड्काले भने, ‘उनीहरुलाई स्कुले जीवनमै देशमै बसेर केही गर्नुपर्छ भन्ने शिक्षा दिन जरुरी छ ।’ युवा र विद्यार्थी विदेश पलायन हुँदा घर रहेका बावुआमालाई स्याहार गर्ने मान्छे नहुने पाइएको भन्दै उनले सबैभन्दा ठुलो धर्म बावुआमाको सेवा भएको उल्लेख गरे ।
‘हामीकहाँ अबैध मार्गबाट अमेरिका जाने लहर चलेको छ ।’ उनले भने, ‘घरमा बुवा वा आमाको निधन भएमा अमेरिका गएको छोरो काजकिरिया गर्न आउन सक्दैन् । आमाबुवाको काजकिरिया भाडामा राखेको मान्छेले गराइन्छ । यो भन्दा बिडम्बना के हुन सक्छ ?’ जुनियर रेडक्रसले हरेक विद्यालयमा गएर देश प्रेमको शिक्षा दिए विदेश पलाएनमा कमी ल्याउन सकिने बताए ।