सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताए । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय बिच सहकार्य गरिने बताए ।

‘म गम्भीर रोगलाई जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुति हुन्छ, परिवारले कस्तो सङ्कट भोग्नुपर्छ त्यो सबै अनुभुति म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरू समाधान गर्न सरकार तयार छ,’ उनले भने,‘ स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौ । अनुभुति हुनेगरि सुधार गर्छौं ।’ उनले मुटुसँगै मृगौलाको उपचार र डाइलासिस सेवालाई पनि सहज बनाउने बताए ।

पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको ढिलासुस्ती र लापरवाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका नीति नियमहरूको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरू नसुध्रिएसम्म कुनैपनि क्षेत्र सुधार गर्न नसकिने बताए । उनले सरकारले अगाडि सारेका स्वास्थ्यका योजनाहरू कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूर्णरूपमा तयार हुनुपर्ने बताए ।

‘कपिलवस्तुको जितपुरमा डाइलासिस सेन्टरको अनुमति ल्याउन म आफै दुईवर्ष सम्म धाउँदा पनि सकस परेको छ । दुई वर्ष निरन्तर पहल गर्दा बल्ल अनुमति ल्याउन सकियो, यस्तो ढिलासुस्तीले जनताले कहिले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउन सक्छन्, कर्मचारी तहबाट ढिलासुस्ती हुनु राम्रो होइन,’ उनले भने।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका बिरामीले क्याथ ल्याबबाट सेवा लिइसकेका छन्। लुम्बिनी प्रदेशमै पहिलो पटक क्याथ ल्याब सेवा सुरु गरेको अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेसमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि, सिटिस्क्यान लगायतका सेवा प्रदान हुँदै आएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा करिब ८ सय मृगौलाका बिरामी रहेकोमा ५ सय भन्दा बढि मृगौलाका बिरामीले मुटु अस्पतालले विभिन्न स्थानमा सञ्चालन गरेका डायलासिस सेन्टरबाट नियमित मृगौलाको डायलासिस सेवा लिँदै आएका छन् । बुटवलको अस्पतालसँगै दाङको लमही, पाल्पा, वालिङमा डायलासिस सेन्टर सञ्चालन भईरहेका छन् । कपिलवस्तुको जितपुरमा आगाम १७ गतेदेखि डायलासिस सेन्टर सञ्चालन हुंदै छ भने नवलपरासीको परासीमा पनि निकट भविश्यमै संचालनको तयारीमा रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस