सरकारले सञ्चार माध्यमको संरक्षण र विकासका लागी उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागी प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सबलीकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा नेतृत्वमा कार्यदल गठन भएको थियो ।  यो कार्यदलले चालु आर्थिक वर्षमा प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको विभिन्न शीर्षकका बजेटहरूको अध्ययन गरेको थियो । बजेट निर्माण र कार्यान्वयनलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी सुझाव सहितको प्रतिवेदन बुझाइएको हो । कार्यदलका संयोजक तथा सञ्चार समन्वय परिषदका अध्यक्ष यमबहादुर गाहा सहित कार्यदलका सदस्यहरूले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन ।

कार्यदलले प्रतिवेदन बुझाउनु अघि मुख्यमन्त्री आचार्य सहित प्रमुख सचिव महादेव पन्थ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेलसँग छलफल गरेको थियो । प्रतिवेदन बुझाउदै सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहाले सञ्चार व्यवस्थापनलाई बलियो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने, एकद्वार प्रणालीबाट बजेट विनियोजन गर्ने, कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न आग्रह गरे।

सञ्चारलाई बलियो बनाउन सके प्रदेश बलियो हुने धारणा राखे । राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रिय अध्यक्ष तथा बरिष्ठ पत्रकार बालकृष्ण चापागाँईले विज्ञापन नीतिमा परिवर्तन नल्याउँदा सम्म सञ्चार माध्यम बलियो हुन नसक्ने भएकाले विज्ञापन नीति परिवर्तन गर्न माग राखे ।  सरकारले मूल सञ्चारका माध्यम सम्म बजेट  पु-याउन  नसकेको समेत बताए ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस