ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताए । ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउँदा ज्येष्ठ नागरिकहरू समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन सँगै ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताए ।
९२ वर्षीय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराईसँगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै ज्येष्ठ नागरिकहरूमा अपिल गरे । ‘ज्येष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ’ उनले भने ,‘तपाईँहरूको ज्ञान, सीप, क्षमता र अनुभव मूलक बनाउन खाँचो छ ।’
मुख्यमन्त्रीसँगको भेटमा ज्येष्ठ नागरिक भट्टराईले ८० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग राखेका थिए मुख्यमन्त्री आचार्यलाई भेट गर्न भट्टराई बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी आएका थिए । ‘हामीलाई सकभर गाडीमा चढाउदै चढाउँदैनन् । चढाई हाले भाडा छुट दिदैनन’ उनले भने ,‘हामी ज्येष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।’ घरमा बस्नु भन्दा घुमेर समय बिताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने समेत भनाई राखे । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको सङ्ख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हो ।