निःशुल्क कार्यक्रम कटौति हुँदा अस्पतालले शुल्क लिँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी र इमर्जेन्सी सेवाको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । तर, यस आर्थिक वर्षदेखि रकम अभावका कारण यो कार्यक्रम बन्द भएपछि अस्पतालहरूले शुल्क लिन थालेका छन् । ओपिडी सेवाको नयाँ टिकटको लागि २० रुपैयाँ, पुरानो टिकटको १० रुपैयाँ, जनरल वार्डको एक सय र भर्ना शुल्क एक सय यही साउन १ गतेदेखि अस्पतालले लिन शुरु गरेका छन् । यि सबै निःशुल्क पाएका सेवाग्राहीले भने निःशुल्क सेवा हुनु पर्ने बताउँछन् ।
सरकारी अस्पतालमा निम्न आर्थिक भएका ब्यक्तिहरू आउने भन्दै यो सेवा निरन्तर हुनु पर्ने बबई गाउँपालिका २ का दुर्गा केसीले बताए । उनले भने,‘ हामीले दुई वर्षदेखि निःशुल्क सेवा पाइरहेका थियो । अहिले आएर फेरि पैसा लिन शुरु गरिएछ । सरकारले यस्ता कार्यक्रमहरू निरन्तर दिनुपर्छ । ’ यस्तै उनले सरकारी अस्पतालमा निम्न आर्थिक भएका ब्यक्तिहरू आउने भन्दै निःशुल्क सेवाले केही राहत मिलेको थियो । अहिले फेरि शुल्क लिन थालेको प्रति आपत्ति जनाए । यस्तै बबई गाउँपालिका ५ हापुरेकी इन्द्रमाया चापागाइँले पनि अस्पतालले दिँदै आएको सेवा निरन्तर हुनु पर्ने बताइन् ।
पश्चिम दाङका बिरामीहरूले उपचार गर्ने केन्द्र नै यस अस्पताल भएको भन्दै उनले अस्पतालले दिँदै आएको निःशुल्क सेवा बन्द हुनु दुखद कुरा रहेको बताइन् । उनले भनिन्,‘ पैसा हुनेलाई त २० रुपैयाँ केही हुँदैन । तर, पैसा नहुनेलाई त्यही २० रुपैयाँ निकै महत्व हुन्छ । नेताहरूले सानो समस्या हुँदा उपचार गर्न लाखौँ खर्च गरेका हुन्छन् । तर, हामी जस्ता नागरिकहरूलाई २० रुपैयाँ छुट दिँदा पैसा नभएको भन्दै बन्द गर्नु दुखद कुरा हो ।’ यस्तै उनले अस्पतालमा बिरामीहरूलाई सेवा लिन समस्या हुने भएको भन्दै सहज रुपमा सेवा दिने वातावरण मिलाउन समेत आग्रह गरिन् । राप्ती प्रादेशिक अस्पतालमा सयौँको सङ्ख्यामा बिरामीहरू उपचारको लागि आउने गरेका छन् ।
पश्चिम दाङ मात्र नभइ छिमेकी जिल्ला सल्यान, रोल्पा, रुकुमबाट उपचार गर्ने आउने ठाउँ नै यही अस्पताल हो । निम्न आर्थिक भएका परिवारहरू उपचार गर्न आउने हुँदा १० रुपैयाँ बचे पनि बिरामीलाई केही खुवाउन सकिने हुँदा राज्य निःशुल्क सेवा दिनु पर्ने सल्यान कपुरकोट गाउँपालिका ४ की टिका बिकले बताइन् । उनले भनिन्,‘ छोरालाई उपचार गर्न आएकी हुँ ! टिकट काट्दा २० रुपैयाँ तिरे । पहिला पैसा लाग्दैन्थ्यो, साउन १ गतेदेखि पैसा लिन शुरु भएछ । सरकारले कि पहिला नै निःशुल्क सेवा नदिनु, यदि दिएपछि निरन्तर दिनु पर्ने हो ? हामी जस्तालाई १० रुपैयाँ बचेपनि बिरामीलाई एउटा पाउरोटी किन्न पुग्छ । नेताहरूले अन्य अनावश्यक खर्च गर्दा हुन्छ, तर, नागरिकहरूलाई सहज सेवा दिँदा राज्यमा पैसा हुँदैन ?’ यस्तै उनले अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा पाउन समस्या हुने भएको हुँदा अस्पतालले यसमा ध्यान दिनु पर्ने बताइन् ।
उनले तिन वटै सरकारहरू मिलेर बिरामीहरूलाई सहज रुपमा सेवा दिने वातावरण मिलाउनु पर्ने समेत बताइन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७९ / ८० मा ओपिडी, इमर्जेन्सी र जर्नल बेड सेवा निःशुल्क प्रदान गर्न राप्ती प्रादेशिक अस्पताललाई ५० लाख बजेट छुट्याएको थियो । तर अस्पतालमा ७५ लाखको सेवा प्रवाह भयो । पछि २५ लाख थप गरेर पठायो । गत आर्थिक वर्षमा ५० लाख नै छुट्याएको थियो, भने अस्पतालबाट ९८ लाख ८५ हजार ८ रुपैयाँ बराबरको सेवा ओपिडी, इमर्जेन्सी र जनरल बेड सेवा प्रदान गरेको जनाएको छ । जसमा ५० लाख रुपैयाँ मात्र आएको र बाँकी ४८ लाख ८५ हजार ८ सय रुपैयाँ नआएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।
उनका अनुसार प्रदेश सरकार आगामी वर्षका लागि कार्यक्रम नै हटाएपछि शुल्क लिन थालेको हो । उनले भने,‘ चालु आर्थिक बर्षको बजेट आएपछि ओपिडी निःशुल्क र बेड निःशुल्क कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयबाट आएपछि यही साउन शुल्क लिने गरेका छौँ । इमेरजेन्सीको लागि निःशुल्क नै रहेको छ ।’ यस्तै उनले अस्पताल अहिले पनि पुरानै संरचनामा रहेको भन्दै सेवा दिन समसया भइरहेको बताए । अस्पतालाई २ सय बेडको बनाउने भन्ने कुरा भएयता पनि आर्थिक अभावले काम अगाडि बढाउन नसक्ने प्रदेश सरकारले भनेपछि त्यो कार्य अगाडि बढ्न सकेको छैन् । ति फाइलहरु अहिले अर्थ मन्त्रालयमा गएर बसेको समेत उनको भनाइ छ ।
यस्तै उनले लुम्बिनी प्रादेशिक अस्पताल भन्दा राप्ती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कम प्राथामिकतामा दिने गरेको उनको गुनासो छ । उनले भने,‘ दुई वटा अस्पतालहरु प्रादेशिक अस्पताल नै हुन् । तर, चिकित्सकहरु देखि लिएर स्रोतसाधनहरु सबै बढि उता दिएको पाइन्छ । यस अस्पतालमा पनि पश्चिम दाङ लगायत पहाडि जिल्लाका बिरामीहरु सेवा लिन आउने गर्दछन् । सिमित स्रोत साधनमा हामीले जसोतसो नागरिकहरूलाई सेवा दिँदै आएका छौँ ।’