एमबिबिएसको पाठ्यक्रम विकास सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाई सुरु गर्ने तयारीस्वरूप प्रतिष्ठानको तिन दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी सुरु भएको छ। राप्ती प्रतिष्ठान लगायत ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूद्वारा संयुक्त रूपमा शनिबारबाट काठमाडौंमा गोष्ठी सुरु भएको हो। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालको विशेष उपस्थितमा गोष्ठीको पहिलो दिनको उद्घाटन समारोह गरिएको हो । सो अवसरमा बोल्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. झाले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा आयोग सदैव सकारात्मक रहने र यो गोष्ठीले देशको चिकित्सा शिक्षा लाई नयाँ दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गोष्ठीमा देश भरका ८ वटा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूद्वारा शिक्षा, अनुसन्धान र सेवाको क्षेत्रमा आपसी सहयोग गर्ने समझदारी पत्रमा हस्ताक्षरसमेत हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । उनले एमबिबिएस सञ्चालन गरेका अन्य प्रतिष्ठानमा विज्ञहरू बोलाई पाठ्यक्रम निर्माणको तयारी तिव्र पारिएको र सोही योजना अनुसार नै गोष्ठी आयोजना गरिएको बताए। उनले प्रतिष्ठानले सञ्चालनमा आएको पाँच वर्षमा नर्सिङ शिक्षा र एमडीको कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै यहाँको उत्पादन गुणस्तरीय भएर सबै स्थानमा बिक्नेमा पनि उनले विश्वास व्यक्त गगरे ।

‘मलाई विश्वास छ, यहाँ नर्सिङ, एमडी जस्तै पढाइका लागी भौतिक पूर्वाधारको राम्रो व्यवस्थापन छ, पढाई पनि सुरु गरिसकेका छौ, अव एमबिबिएसको पढाई पनि सञ्चालन गर्न पनि पाठ्यक्रम, पूर्वाधार ल्याब तयारी अवस्थामा राख्दैछौँ, एमबिबिएस पढाउनका लागि चिकित्सकहरू आउनेक्रम जारी रहेको छ, फ्याकल्टी बनाउने काम चलिरहेको छ– रजिष्ट्रार लम्सालले भने –‘ एमबिबिएसका लागि प्रतिष्ठानलाई ५० जना विद्यार्थी भर्ना भएमा दाङको सामाजिक, आर्थिकको अवस्था र प्रतिष्ठानको समग्र अवस्थामा राम्रो परिवर्तन आउनेछ, अहिले आइरहनु भएका र अध्यापन गराइरहनु भएका एक से एक असिस्टेन्ट, एसोसिएट र प्राध्यापकहरू पनि सक्षम र क्षमतावान हुनुहुन्छ, त्यसैले यहाँ अध्ययन पुरा गरेका विद्यार्थीहरूले सहजै रुपमा सबै क्षेत्रमा रोजगारी पाउने सक्ने हुनेछन्’ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले पाठ्यक्रम निर्माण पश्चात पास भएर छिट्टै पढाइ सुचारु हुने विश्वास व्यक्त गरे । साथै, उनले पाठ्यक्रमको विकासको लागि प्रतिष्ठानले गरेको मेहेनतको प्रशंसाग कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले यसअघि नर्सिङ र एमडीको पाठ्यक्रम बनाएर शैक्षिक कार्यक्रम सुरुवात भई सञ्चालनमा आइसकेको भन्दै अव आउने दिनमा एमबिबिएसको पनि पाठ्यक्रम तयार गरेर पढाई सञ्चालन गर्ने गरी सबैखाले तयारी अघि बढाइएको बताए ।

उनले एमबिबिएसको लागि छुट्टै ल्याब बनाउनेदेखि पूर्वाधारको व्यवस्थापन गर्ने गरी प्रतिष्ठानमा अहिले कार्य भइरहेको बताए । प्रतिष्ठानबाट एमबिबिएसको पाठ्यक्रम तयारीका लागि राप्ती प्रतिष्ठानबाट उपकुलपति डा। लामिछाने, रजिष्ट्रार प्राध्यापक लम्सालसहित पूर्व शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, डीन डा. सागर पन्थी, सर्जन डा. सूर्यमान लिम्बू लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा एमबिबिएस सञ्चालन गरेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ प्राध्यापकहरूको उपस्थिति रहेको छ। गोष्ठी ७ गतेसम्म सञ्चालन हुने छ । प्रतिष्ठान स्थापना भएको करिब ५ वर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सञ्चालनमा आउन थालेका छन्।

हाल प्रतिष्ठानमा बिएस्सी नर्सिङ, विएनएस नर्सिङ, डाक्टरको स्नातकोत्तर तहको पढाई एमडीमा एमडीजिपि, प्रसूति, अर्थोपेडिक्समा गरेर ४ जना विद्यार्थी भर्ना भई सञ्चालनमा आइसकेको छ । नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थी भर्ना भएका छन्। हरेक सेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस