तुलसीपुर उपमहानगरमा माटो परीक्षण गर्न सुरु

दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको छ । उपमहानगरको कृषि शाखाले वडा नम्बर २ बाट माटो परीक्षण गर्न सुरु गरेको हो ।  माटो परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख टिकाराम खड्काले कृषिलाई आधुनिकीकरण गर्न माटो परीक्षणको सुरुवात गरिएको बताए ।

परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै उनले उब्जनी बढाउनका लागि माटो परीक्षण आवश्यक भएको बताए ।  माटोको अवस्था पहिचान गरी सोही बमोजिमका कीटनाशक औषधि प्रयोग गर्न उनले कृषकलाई आग्रह गरे ।  क्रमश सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उनले बताए । 

वडा अध्यक्ष भिमबहादुर योगीका अनुसार आइतबार २ सय जना कृषकले माटो परीक्षणका लागि माटोको स्याम्पल वडा कार्यालयमा बुझाएका छन् । संकलन गरिएको माटोको स्याम्पल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने छ । परीक्षणको रिपोर्ट आउन एक हप्ता लाग्ने वडा सचिव पुष्पा घर्तीले जानकारी दिइन्। 

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस