समुदायस्तरबाटै लागूऔषध नियन्त्रणको सचेतना कार्यक्रम संचालन गरिनुपर्ने जोड
दाङ । लागुऔषध दुर्व्यसनी नियन्त्रणमा सरोकारवाला स्थानीय निकायका साथै वडा कार्यालय, टोल र विद्यालय समेतलाई समेटेर प्रभावकारी रूपमा सचेतना अभिवृद्धि कार्यक्रम सन्चालन गर्नुपर्ने सुझाव दिइएको छ । समुदायस्तरबाटै लागूऔषध नियन्त्रणको सचेतना कार्यक्रम संचालन गरिनुपर्ने आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय दाङ मार्फत लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयले आइतबार घोराहीमा आयोजना गरेको लागुऔषध नियन्त्रण सम्बन्धी जिल्लास्तरीय अन्तरकिया कार्यक्रममा बोल्दै सहभागीहरूले लागुऔषध दुर्व्यसनीको संख्या बिगतको तुलनामा बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
त्यस अवसरमा गृह मन्त्रालयका उपसचिव एवं लागुऔषध नियन्त्रण शाखाका शाखा अधिकृत महेश कुमार गुरुङले देशैभर लागूऔषध प्रयोगकर्ताको तथ्यांकका साथै, नियन्त्रणका उपाय, विद्यमान राष्ट्रिय नीति तथा थालिएका प्रयासहरूका विषयमा जानकारी गराए ।
उपसचिव गुरुङले नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार देशैभर गाँजाजन्य पदार्थको प्रयोगकर्ता सबैभन्दा बढी ८०।४ प्रतिशत रहेको जानकारी दिए। भारतसँगको खुला सिमा नाकाका कारण भारतबाट नै लागूऔषध ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कार्यक्रममा लागूऔषध ओसारपसारमा वास्तविक कारोबारी वा लागूऔषध प्रयोगकर्ता नभई ज्यालादारी मजदुरको प्रयोग हुने गरेको दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
प्रहरी उपरीक्षक केसीले जिल्लामा लागूऔषध नियन्त्रणका सन्दर्भमा गरिएका प्रयासहरूको बारेमा जानकारी दिए । उनका अनुसार दाङमा चालू आ.व. २०८०÷०८१ मा लागूऔषध सम्बन्धि ३९ मुद्दा दर्ता भएकोमा ३० वटा मुद्दा फर्च्छौट भइसकेका छन् भने बाँकी अनुसन्धानका क्रममा रहेका छन् ।
गृह मन्त्रालयका अनुसार सम्भाव्य गाँजा तथा अफिम जोखिमयुक्त जिल्लाहरूलाई विशेष प्रभावित, अति प्रभावित, प्रभावित र कम प्रभावित गरि ४ समूहमा विभाजन गरिएको छ । जसअनुसार गाँजा तथा अफिम जोखिमयुक्त जिल्ला मध्ये दाङ प्रभावित समूहमा भएका कारण यस क्षेत्रमा विशेष निगरानी सहित सरोकारवाला निकायहरूको समन्वयात्मक कार्यक्रम सहितको रणनीतिको आवश्यकता औंल्याइएको थिए ।
कार्यक्रममा जिल्लाका सबै स्थानीय तहमा लागूऔषध नियन्त्रण सम्बन्धि कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशनात्मक सुझाव दिइएको थियो । त्यस अवसरमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोदले पालिकाका ८ वटै मावि तहका विद्यालयमा विद्यार्थीहरूका लागि लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरू भैसकेको जानकारी दिए । त्यस्तै बबई गाउँपालिका अध्यक्ष कुलबहादुर वलीले पनि आगामी आर्थिक वर्षदेखि लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नयाँ पाईला पुनःस्थापना केन्द्र बिजौरीका सञ्चालक सुरेश भुसालले पूर्व लागूऔषध प्रयोगकर्ताहरूको निःशुल्क स्वास्थ्य उपचार र रोजगारीको सुनिश्चित गर्न सकेमा लागूऔषध प्रयोगकर्ता निरुत्साहित गर्न सहज हुने र तस्करहरू पनि घट्ने सुझाव दिए। त्यस्तै ब्रह्मकुमार शिवलाल महतरा, महिला मानवअधिकारकर्मी सुशिला पौडेल, नेपाल स्काउट दाङका संगीत अधिकारी लगायतले लागूऔषध दुर्व्यसनी न्युनिकरणका लागि विद्यालयमा लागूऔषध प्रयोगको अवस्था चेकजाँच गर्ने, स्थानीय विषयमा लागूऔषध सम्बन्धि जानकारीमूलक पाठ्यक्रम, संस्कार, योगाभ्यास लगायतका विषय समावेश गरिनुपर्ने बताए ।
गृह मन्त्रालय शाखा अधिकृत दिलीप सुवेदीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रशासन कार्यालय दाङ प्रमुख रामबन्धु सुबेदीले दाङ जिल्ला पनि लागूऔषधले प्रभावित जिल्ला रहेको हुँदा सबैलाई जागरुक हुन आग्रह गरे । गृह मन्त्रालयका उपसचिव महेश कुमार गुरुङको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
