बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई

दाङ । दाङको बङ्गलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम आज हाँसीपुरमा सम्पन्न भएको छ । बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनवाई कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा तुलसीराम खत्री, प्रकाश केसी, मान बहादुर गाहा, मीन बहादुर गाहा ,चन्द्रिका गाहा मगर लगायतले गाउँपालिकाले प्रदान गर्ने सेवा, वडामा भएका समस्याका बारेमा गाउँपालिकाको जवाफ मागेका थिए । सो कार्यक्रमका सहभागीहरूले उठाएको सवालमा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापा, ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा, आर्थिक प्रशासन प्रमुख नारायण आचार्य लगायतले जवाफ दिए ।

सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न गाउँपालिका लागि परेको बताए । अध्यक्ष पुनले कतिपय कुराहरु पुरा हुँदै गएको र कतिपय पुरा हुने प्रक्रियामा रहेको बताए । उनले जनतालाई राज्यको अनुभूत गराउने नै आफूहरूको प्रमुख लक्ष्यरहेको बताए । अध्यक्ष पुनले अधिकारको उपयोग गर्ने हरेक नागरिकले कर्तव्यको बोध समेत गर्नुपर्छ भन्नेकुरालाई भुल्न नहुने बताए । उनले गाउँपालिकालाई सक्षम र सवाल बनाउनका लागि आउँदा दिनहरूमा केही कमीकमजोरी भएको खण्डमा सुधार गर्दै अघि बढ्ने बताए ।

यस्तै गाउँपालिकाले उपाध्यक्ष भक्त बहादुर जिसीले हरेक नागरिक पनि आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए । नागरिकलाई राज्यले हेर्ने र राज्यले दिएको अधिकारको उपभोग गर्दै नागरिक पनि जिम्मेवार हुनु पर्ने बताए । उनले जनताका हरेक आवश्यकता परिपूर्ति गर्नका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बङ्गलाचुली गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरु, वडाका सचिव लगायतको सहभागिता रहेको थियो । भने वडा नम्बर ७ र ८ का स्थानियहरुको सहभागिता रहेको थियो । बङ्गलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस