२७ विद्यार्थी, २६ शिक्षक, वार्षिक २ करोड बढि तलब खर्च

दाङ । नेपाल संस्कृति विश्वविद्यालय विद्यापीठ बेलझुण्डी दाङमा आचार्य अर्थात (डिग्री) अन्तर्गत ७ वटा विषयमा पढाइ हुन्छ । जसमा पहिलो वर्षमा १५ जना र दोस्रो वर्षमा १२ जना विद्यार्थीहरू रहेका छन्, भने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी २६ जना रहेका छन् । यस्तै अन्य ७ जना कर्मचारीहरू रहेका छन् । जसमा वार्षिक २ करोड बढि तलब खर्च हुन्छ, भने २७ जना विद्यार्थीहरू पनि नियमित पढ्न आउँदैनन् । विद्यापीठमा साहित्य, व्याकरण, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराण, न्याय, सिद्धान्त गरी ७ विषयको पढाइ हुन्छ, भने पढ्ने विद्यार्थीहरूले मासिक एक हजार छात्रवृत्ति समेत पाउने गरेका छन् ।

विद्यापीठमा दाङ लगायत बाहिरी जिल्ला विद्यार्थीहरू आचार्य पढ्दै आएका छन् । बर्दियाबाट इतिहास पुराण विषयमा पढ्न आएका डिल्ली प्रसाद रिजालले विद्यापीठमा सबै कुरा राम्रो भएयता पनि नियमित रुपमा विद्यार्थीहरू नआउने गरेको गरेको बताए । उनले भने,‘ म आचार्य प्रथम वर्षको विद्यार्थी हुँ ! इतिहास पुराण पढ्दै आएको छु । यहाँ सबै कुरा राम्रो भएयता पनि विद्यार्थीहरू नियमित आउनेमा कमी देखेको छु । यहाँ हुने पढाइलाई निरन्तरता दिन जरुरी छ ।’ यस्तै उनले आफू शिवालयमा बस्दै आएको र यहाँ पढ्न बेलामा सम्म बस्ने र अनि घर जाने गरेको पनि बताए ।

उनले आफ्नो इतिहास पुराण आफ्नो विषय भएको हुँदा तिन जना गुरुहरूसँग पढ्ने गरेको बताए । विद्यापीठमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकले आफ्नो विषय पढ्ने विद्यार्थी आएको खण्डमा पठाउने र नआएको खण्डमा कार्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र नभएको बेला हाजिर गरेर घर जाने गरेको एक जना उपप्राध्यापकले बताए । उनले भने,‘ अहिले एक जना विद्यार्थी नियमित आउनु हुन्छ । उहाँलाई पढाउँदै आएको छु । विद्यार्थीहरू त अरु आए पनि राम्रो हुन्थ्यो, तर, डिग्री लेबलमा पढ्ने विद्यार्थीहरू अन्य ठाउँमा आफ्नो व्यवसाय पनि गरेका हुन्छ । त्यो भएर पनि नियमित आउँदैनन् ।’ यस्तै उनले एक जना भएपछि ५० जना भएपनि एक घण्टा पढाउनु पर्ने भन्दै धेरै विद्यार्थीहरू भएमा राम्रो हुने पनि बताए । उनले एक घण्टाको कक्षा लिइसकेपछि विद्यापीठमा काम भए बस्ने र नभए जाने गरेको समेत बताए ।

विद्यापीठमा शुक्रबार पढाइ हुँदैन, भने अन्य बार विद्यार्थी आएको खण्डमा पढाइ हुन्छ । देशभर १८ बढि विद्यापीठ भएको र त्यहाँ पनि पछिल्लो समय आचार्य विषयमा पढाई हुँदा यहाँ विद्यार्थी कमी भएको विद्यापीठका प्राचार्य उदयराज सुबेदीले बताए । उनले कतिपय विद्यार्थी विद्यापीठमा आएर पढ्ने र कतिपय अनलाइनबाट पढ्ने गरेको दाबी गरे । उनले नेपाल संस्कृति विश्वविद्यालयको धरोहरका रुपमा रहेको ज्ञानको भण्डारलाई जगाउनको लागि यो विश्वविद्यालय स्थापना भएको समेत बताए । उनका अनुसार संस्कृतको सम्वर्द्धन र बढाउनको लागि यो धर्मलाई जगाउनको लागि हो । उनले यहाँ संस्कृत पढ्ने विद्यार्थीहरूलाई मासिक एक हजार रुपैयाँ छात्रवृत्ति दिने व्यवस्था रहेको पनि उल्लेख गरे ।

दलितहरूलाई छात्रवृत्ति डबल रहेको पनि उनको भनाइ छ । उनले भने,‘ देशभर पहिला यहाँ मात्र आचार्य पढाइ हुन्थ्यो । तर, देशभर अहिले करिब १८ वटा विद्यापीठहरू रहेका छन् । त्यहाँ पनि आचार्य विषयमा पढाइ हुन थालेपछि विद्यार्थीहरू कम भएका हुन् ।’ उनका अनुसार विशुद्ध संस्कृतलाई जर्गेना गर्ने उद्देश्यले सञ्चालन भएको विद्यापीठमा विद्यार्थीहरूको भिडभाड धेरै विद्यार्थी उत्पादन भए भन्नको लागि पनि यो होइन् । उनका अनुसार प्राध्यापक मासिक ७० हजार रुपैयाँ, सहप्राध्यापक ६० हजार रुपैयाँ र उपप्राध्यापक ४५ देखि ५० हजार रुपैयाँ तलब रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस