माटोको भाडा बनाउन माटो अभाव

दाङ । एकातिर नयाँ पुस्ताले आफ्नो पेशा नसिक्दा हराउँदै गएको चिन्तामा रहेका कुमाल समुदायहरू भने अर्कोतर्फ सामाग्रीहरू बनाउन माटोको अभाव, बनाएका पकाउन दाउराको अभाव रहेको दुखेसो गर्छन् । पुस्तौँदेखि माटोका भाडा बनाएर पेशाको संरक्षण गर्दै जीवीका चलाउँदै आएका कुमाल समुदायलाई अहिले यही पीडा रहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी स्थित कुमाल गाउँमा ६० भन्दा बढि घरधुरीमा कुमाल समुदायको बसोबास छ । गाउँमा बढिमा १० र १५ घरका त्यो पनि पाका उमेरकाले मात्र आफ्नो पेशा बचाउँदै आएका छन् ।

१४ वर्षको उमेरदेखि माटोका विभिन्न सामाग्री बनाउँदै आएका ६२ वर्षीय रूपसिंह कुमालले माटो र दाउराको समस्या रहेको बताए । उत्पादन गरेका सामाग्रीहरू बिक्री हुने गरेको भएयता पनि माटोको समस्याले गर्दा भनेजति बनाउन नसकिएको उनको भनाइ छ । उनले भने,‘ बेच्न लगेपछि सामाग्रीहरू बिक्री हुन्छ । बजारमा व्यापारीहरू सस्तोमा खोज्ने गर्दछन् । गाउँगाउँमा गएर समय अनुसारका सामाग्रीहरू बनाए बिक्री हुन्छ । तर, माटोको समस्या रहेको छ ।’ तुलसीपुर ७ को मटेराबाट माटो ल्याउने गरेको भएयता पनि त्यहाँ विवाद हुँदा समस्या भइरहेको बताए ।

उनले भने,‘ माटोका सामाग्रीहरू बनाउनको लागि जहाँ पायो, त्यहाँको माटो हुँदैन । हाम्रा पुर्खाहरूले ल्याउने ठाउँ भनेको मटेरा नै हो रु तर, अहिले स्थानीयहरूले विवाद गर्दा समस्या भएको छ ।’ यस्तै उनले अब गर्मी समय शुरु भएको र अब घैटाहरूको बढि माग हुने भएयता पनि उत्पादन गर्न समस्या हुने बताए । उनले बनाएका सामाग्रीहरू पकाउनको लागि पनि दाउराको समस्या हुने गरेको बताए । उनका अनुसार घर मै पराल हुने भएयता पनि दाउराको पनि अभाव हुने गरेको छ ।

यस्तै उनले पुर्ख्यौली पेशा आफ्ना छोराहरूलाई सिकाउन खोज्दा उनीहरूले चासो नदिएको बताए । जेठो छोरा भारत गएको र कान्छा छोराले अटो चलाउने गरेको उनले बताए । उनले भने,‘ यो सीप सिकाउनको लागि मैले धेरै प्रयास गरेको थिए । तर, छोराहरूले यता चासो दिएनन् । उनीहरूले अरु नै काम गरेका छन् । यो काममा दुख धेरै हुने र आम्दानी कम हुँदा युवा पुस्ताहरूले चासो दिएका छैनन् ।’

यस्तै ६७ बर्षीया गोविन्द कुमालले पनि करिब १३ वर्षको उमेरदेखि यो पेशामा लागेको बताए । पहिला माटोको भाँडाहरू गाउँ –गाउँ लगेर जाने र धानसँग साटेर ल्याएर आफ्नो घरको जीविका चलाउने गरेको भएयता पनि पछिल्लो समय ब्यापारीहरूले नै घर मै आएर पैसामा किन्ने गरेको उनको भनाइ छ ।आफ्नो बाउ, बाजेहरुले गर्दै आएको पुर्ख्यौली पेशालाई अहिलेसम्म आफूले निरन्तर दिँदै आएको भन्दै उनले सबै भन्दा ठूला माटोको समस्या रहेको बताए ।

उनले अहिले माटाका साना सामाग्रीहरू मात्र बनाउने गरेको बताए । उनले भने,‘ एकातिर बजारमा प्लास्टिकका भाँडाहरू छन्, अर्कोतर्फ माटो पर्याप्त मात्रामा पाइदैन् । अर्को काम गरौँ, भने जानेको छैन्, बाउ, बाजेहरूसँग सिकेको यही पेशा अहिले जसोतसो गरिरहेको छु ।’उनका अनुसार माटो निकाल्न पनि धेरै सङ्ख्यामा जानु पर्ने र त्यहाँ पनि विवाद हुँदा अब पेशा नै छाड्नु पर्ने अवस्था आएको छ । युवा पुस्ताकाले यो पेशामा तिर ध्यान नदिने र अर्कोतर्फ माटो, दाउरा जस्ता कुराको समस्या हुने अब गाउँबाट यो पेशा लोप हुने उनको भनाइ छ ।

आम्दानी कम, मेहेनत धेरै हुँदा यो पेशामा प्रति रुचि छैन् : युवा नवीन
उनका अनुसार घरमा बुबाले यो सीप जानेको भएयता पनि नगर्ने हुँदा पनि यो पेशा प्रति रुचि नगएको हो । घरमा बाजेले माटाका सामाग्रीहरू बनाउने गरेका पनि उहाँको निधनपछि कसैले नबनाउने गरेको उनले बताए । उनले भने,‘ बुबाले यो सीप जान्नु भएको छ । तर, उहाँले मिस्त्री काम गर्नुहुन्छ । त्यसैले मैले पनि यो पेशाप्रति चासो दिएन । अरु काम गर्दा दिनको एक हजार कमाइ हुन्छ, भने यो पेशाबाट एक हप्ता काम गरेपछि एक हजार कमाउन सकिन्छ, दुख धेरै गर्नुपर्छ । त्यो भएर म जस्ता युवा पुस्ताकाले यता चासो नदिएको हो ।’

यस्तै उनले आफ्नो पुख्र्यौली पेशा लोप हुँदै गएको चिन्ता लाग्ने भएयता पनि यो पेशाबाट अहिले जीवन चलाउन नसकिने भन्दै आफूहरू फरक पेशामा लागेको समेत बताए । उनका अनुसार अहिले गाउँमा बुढापाकाहरूले मात्र यो पेशामा गर्दै आएका छन्, तर, उनीहरूको निधनपछि त्यो हराउने छ । यो पेशालाई बचाउनु भनेको कुमाल जातिको पहिचान जोगाउनु भएयता पनि विभिन्न कारणले आफूहरू यो पेशाबाट अलग हुनु परेको उनको भनाइ छ ।

यस्तै उनले युवाहरूलाई यो पेशातर्फ आकर्षण गर्नको लागि राज्यले नयाँ सीप, प्रविधि र बजारिकरणको ब्यवस्था गर्न सकेमा मात्र हुने समेत उनले बताए । माटोको अभावले गर्दा माग अनुसारको सामाग्री तयार गर्न समस्या रहेको प्रेम बहादुर कुमाल बताए । पुस्तौँदेखि तुलसीपुर ७ को मटेराबाट माटो ल्याउँदै आइरहेको भएयता पनि त्यस ठाउँमा विवाद हुँदा अहिले समस्या भएको छ, भने अर्कातर्फ युवा पुस्ताकालाई पनि यही यो पेशामा लाग्न यही बहाना भएको उनको भनाइ छ । एकातिर बजारमा प्लास्टिकका भाँडा आउनु अर्कोतर्फ पर्याप्त मात्रामा माटो नपाइने हुँदा सीप र परिश्रम अनुसार ज्याला नउठ्ने भएपछि कुमाल जातिको पेशासँगै सीप, कला पनि लोप हुँदै गएको भन्दै उनले पुर्ख्यौली पेशालाई संरक्षण गर्नको लागि राज्य आफूहरूको समस्यालाई सम्बोधन गर्नु पर्ने बताए ।

उनका अनुसार गाउँमा समुह बनाएर आफू जस्तै वृद्धहरूले अहिले जसोतसो माटाका सामाग्रीहरू बजाउँदै आएका छन् । कुमाल गाउँ शान्ति उत्पादन समुहमा ११ जना रहेको समेत उनको भनाइ छ । उनका अनुसार अहिले गमला तथा घोडा लगायत सामाग्रीहरूको माग धेरै भएयता पनि माटो अभावको कारण समस्या भएको छ ।आफूहरूले पुस्तौँदेखि माटो ल्याउँदै आएको ठाउँमा अहिले स्थानीय सरकारले सडक निर्माण गर्दा र स्थानीयले अवरोध गर्दा समस्या भएको समेत उनले बताए । आफूहरूले समस्याको बारेमा स्थानीय सरकारलाई पटक पटक भन्दै आएको भएयता पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ । उनले भने,‘ अहिले गाउँमा हामी धेरै वृद्धहरूले यो पेशालाई निरन्तरता दिँदै आएका छौँ । विभिन्न समयमा तालिमहरू हुँदा पनि युवा पुस्ताहरुले यसलाई ध्यान दिएका छैनन् ।

अहिले माटोको अभावले गर्दा सबै विस्थापित हुनु पर्ने अवस्था रहेको छ । अहिले धेरै सामाग्रीहरूको माग आएको छ । माटो अभावले गर्दा हामीहरूले समस्या पाएका छौँ । हाम्रो यो समस्याको सुनवाई कसले गरिदेला । ’ यस्तै उनले अहिले आफूलाई काठमाडौँबाट साना तथा ठूला घोडा र करुवाको माग आएको भन्दै माटोको अभावले गर्दा बनाउन समस्या भइरहेको समेत बताए । गत वर्ष पनि काठमाडौँ आफूले बनाएका सामाग्रीहरू पठाएको भन्दै उनले राम्रो हुँदा अहिले विदेश पठाउनको लागि केही माग भएर आएको समेत बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस