शहीद नेत्रलाल अभागीको तस्विर अंकित टिकट प्रकाशन

दाङ ।  सरकारले शहीद नेत्रलाल पौडेल अभागीको टिकट प्रकाशनमा ल्याएको छ । राजनीति, शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।

इमान्दारिता, निर्भीकता, परिवर्तनकारी चेतनाले भरिपूर्ण भएका अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति क्षेत्रमा सक्रिय देखिए पनि बिस २०२३ देखि राजनीति र शिक्षण पेशालाई एकैसाथ अगाडि बढाएका थिए ।  २०२४ सालमा नारायणपुरस्थित शिद्धरत्न  माविको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका अभागीले जिल्लाको शैक्षिक विकासका लागि योगदान पु¥याउनु भएको थियो । कक्षा कोठामा बढाउँदै गर्दा कारण २०३० सालमा अञ्चलाधीशबाट पक्राउ पुर्जी जारी भएपछि अभागी शिक्षण पेशा छाडेर भूमिगत भएका थिए  ।

दाङ जिल्लामा बिस २०३६ सालमा भएको आन्दोलनमा नेतृत्व लिनुभएका अभागीले पीडित किसानहरूमा वर्गीय चेतना जागृत गर्न र राजनीतिक सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साहित्यको माध्यमबाट परिवर्तनमा भूमिका खेलेका अभागीका बिस  २०४१ मा नर्कको कथा खण्डकाव्य, बिस २०४२ मा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह, र बिस  २०६२ मा वर्ग प्रेम कविता सङ्ग्रह प्रकाशित भएका छन् ।  

यसका साथै शुक्रराज ( खण्डकाव्य ) , जिम्वाल चन्द र हली सेते कामीको कथा ( काव्य ) , गंगाचिनी ( महाकाव्य ) , सगरमाथाको चुचुरोमा टेकेर ( कविता सङ्ग्रह ) , लेखथानसे वैरागी काइँला सम ( नेपाली कविताहरूको थारू भाषामा अनुवाद ) लगायत अन्य थुप्रै रचनाहरू प्रकाशित छन् ।

बिस २०४१ साल जेठ ६ गते मृत्यु भएका अभागीलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो ।  अभागीसँगै सरकारले शहीद कामी बूढा, रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । टिकट प्रकाशन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक, सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरूको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताइन् ।

आजको परिवर्तन हजारौँको रगत, पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उनले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरूको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताइन्  ।

मन्त्रालयले हुलाक टिकट मार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रूपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा सम्भव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त  गरिन् ।  हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरू दिनानाथ शर्मा र रामकुमारी झाँक्री, शहीद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, शहीद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोलेका थिए । 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस