व्यक्तिगत जीवनका लागि पनि लेखा राख्न आवश्यक : नगर प्रवक्ता वली
दाङ । तुलसीपुर उपमहानगरपालिका प्रवक्ता एवं तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले पछिल्लो समयमा केही सहकारीहरू बदनाम भइरहेको भन्दै सहकारीलाई जीवन्त राख्नको लागि सहकारीको मर्मअनुरूप अगाडि बढाउन आग्रह गरे । मंगलबार तुलसीपुर १८ स्थित गन्यारी कृषि सहकारी संस्थामा ५ दिने सहकारी लेखा व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उनले यस्तो बताए । उनले आर्थिक पारदर्शिता नभएका कारण नै सहकारीहरू डुब्ने गरेको समेत बताए । उनले सहकारीमा मात्र नभइ व्यक्तिगत जीवनमा पनि अर्थको लेखाजोखा राख्न सकियो भने आर्थिक सङ्कटबाट जोगिन सकिने समेत बताए ।
हरेक क्षेत्रमा अर्थको निकै महत्वपूर्ण हुन्छ त्यसैले लेखा व्यवस्थापन तालिमलाई अझै निखार्नको लागि पालिका वा कुनैपनि सङ्घसंस्थाबाट सहकार्य गरेर तालिम लिन आग्रह गरे । उनले यो तालिममले पर्याप्त नहोला तर यस्ता तालिमहरू धेरै लिन आवश्यक भएको समेत बताए । त्यस्तै विशिष्ट अतिथि पर्यावरणीय दिगो विकास एवं अनुसन्धानका अध्यक्ष डिल्ली बहादुर रावतले सहकारीलाई सशक्त र सक्षम बनाउनको लागि स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । लेखाले आर्थिक कारोबार राम्रोसँग व्यवस्थापन वा लेखाजोखा गर्न सकेन भने हिनामिना हुनुका साथै सहकारी नै डुब्ने भएकाले यस्ता तालिमहरू आवश्यक रहेको बताए ।
सहकारीमा सामूहिक काम गर्दा स्थानीय सरकार मार्फत कृषि, व्यवसायिक, महिला सशक्तीकरण जस्ता विभिन्न तालिमहरू ग्रहण गर्दै जाने र तालिमबाट सिकेका सीपहरूलाई व्यवहारमा लागू गर्न सकियो भने सहकारी बलियो रुपमा अगाडि बढ्ने बताए । त्यसैगरी तालिम समापन कार्यक्रममा बोल्दै सहभागी सिमा घर्तिले लेखा सम्बन्धी केही मात्र जानकारी भएयता पनि यो छोटो समयमा तालिम लिएपछि धेरै ज्ञान आर्जन गर्नुका साथै सिक्ने अवसर पाएको बताइन् । तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्ने विश्वास व्यक्त गरिन् ।
यस्ता तालिम अझै लामो समय लिएर सिक्न आवश्यक रहेको बताइन् । गन्यारी सहकारीका सिता चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालक सुशीला चौधरीले गरेकी थिइन । कार्यक्रमको बारेमा तालिम संयोजक रुक्मणी चौधरीले जानकारी गराएकी थिइन, भने सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७, १८ र १९ भित्रका २५ जना सहकारीका लेखा तथा व्यवस्थापकको सहभागिता थियो भने प्रशिक्षकमा सहकारी विज्ञ गोपाल पौडेल रहेका थिए । तालिम ५ दिन सम्म सञ्चालन भएको थियो ।

