प्रादेशिक आयुर्वेदमा बिरामीको घुइँचो, बेडको अभाव
दाङ । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई अहिले बिरामी भर्ना लिनै मुस्किल भएको छ । अस्पतालमा भर्ना हुन बिरामीहरूले पालो कुर्ने अवस्था आएको आएको छ । ३० बेडसम्म मात्र स्वीकृत पाएको अस्पतालमा अहिले ३५ जना बिरामी भर्ना भएका छन् । कुनैबेला वैद्य र कविराजले चलाउँदै आएको बिजौरी आयुर्वेद चिकित्सालयमा अहिले नेपाल सरकारले नै ४ जना विशेषज्ञ चिकित्सकसहितको दरबन्दी तोकेको छ । तर, पनि सरकारी तहबाट बिजौरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्, त्यो पनि निमित्त निर्देशक डा. सन्तोष कुमार ठाकुर ।
बाँकी विशेषज्ञ चिकित्सक अस्पतालले आफै व्यवस्थापन गर्दै आएको छ । सरकारले तोकेका दरबन्दी जनरल, बालरोग, स्त्रीरोग र कार्याचिकित्सकको दरबन्दी पुरा हुन नसकेपछि यी सेवाका लागि अस्पतालले आफ्नै पहलमा विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ । पछिल्लो समयमा बिरामीहरूलाई आयुर्वेद चिकित्सा प्रतिको विश्वास बढ्दै गएको छ । रोगको दीर्घकालीन समस्याको समाधानसँगै निरोगी बन्नका लागि आहार विहार, व्यायाम र योगालाई समेत सो अस्पतालले अंगीकार गर्दै आएका छ । यहीँ कारण अहिले दाङ जिल्लाका मात्र नभएर समग्र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बिरामीहरूको पनि आयुर्वेद उपचारको अस्पताल गन्तव्य बनेको छ । तर मंगलबार पनि सो अस्पतालका ३५ बेडमा बिरामीहरूले उपचार सेवा लिइरहेका छन् ।
‘भर्ना हुनुपर्ने बिरामीको चाप बढेपछि थप दुई वटा बेड व्यवस्थापन गरी सेवा दिइरहेको अस्पतालका निमित्त निर्देशक डा. ठाकुरले बताए । उनका अनुसार कतिपय बिरामीलाई भर्नाका लागि पछि आउन भनेर फर्काउनु परेको छ । दैनिक ७ वटासम्म अप्रेसन गर्न सकिने भएयता पनि बेड अभावका कारण नभएको उनको भनाइ छ । यस्तै उनले अस्पताललाई प्रदेश सरकारले ५० बेडसम्म बनाउने भनेर विगत २ वर्षदेखि भन्दै आएको भएयता पनि अहिलेसम्म कुनै काम नभएको भन्दै आफूहरूले पहल गरिरहेको बताए । अस्पतालमा विशेषगरी पायल्स, फिस्टुला, फिसर र ववासिरका बिरामीहरूको संख्या बढी छ । किनकी पायल्स र फिस्टुलाको क्षारसूत्र विधिबाट शल्यक्रिया गराउनका लागि बिरामीहरूको बढी चाप हुने गरेको छ । एलोप्याथिक चिकित्सामा नेपालगन्ज मेडिकल पश्चिम रुकुमका पदम बहादुर खड्काले नेपालगन्जको भेरी अस्पतालमा उपचार गर्दा कुनै निको हुने संकेत नदेखिए पछि अहिले यही अस्पतालमा भर्ना भएका छन । पाइल्सका बिरामी खड्काले नेपालगञ्जमा ८ / १० हजार खर्च भएको बताए । पहिलो पटक यहाँ आएकोले निको हुनमा आशा पलाएको बताए ।
उनलाई क्षारसूत्र को शल्यक्रियाका लागि कम्तिमा एक साता पालो कुर्नु परेको थियो । उनीजस्तै रोल्पाका हाडजोर्नीको समस्या भएका अर्का बिरामी तारादेव वलीले पनि अस्पतालको सेवा प्रति सन्तुष्टि व्यक्त गरे । उनलाई चिकित्सकहरूले पञ्चकर्म तथा फिजियोथेरापीबाट उपचार गराइरहेका छन् । करिव एक हप्ता भन्दा बढी तेल पानीको बाफले सेक्ने गरिएको छ । पछिल्लो एक सातामा उनको घुँडा दुख्ने समस्या पुरै निराकरण भएको पनि स्वयम्ले बताए । अब एक दुई दिनमै डिस्चार्ज हुने उनले बताए । ‘दुई वर्षअघि यहाँ पाइल्सको लागि आएको थिए पुरै निको भएर यस पटक घुँडाको जोर्नी दुखेर हिड्न नै सकिएको थिएन अहिले त पुरै निको भएको छ ।’ उनले भने । यस्तै पाइल्सको अप्रेसन गरेर विगत एक हप्तादेखि अस्पतालमा भर्ना भएर उपचार गर्दै आएकी रुकुमकी भद्री थापाले पनि अस्पतालमा सबै कुरा राम्रो पाएको बताइन् ।
उनले भनिन्,‘ खाना, बस्नको लागि हामीलाई राम्रो छ । उपचार पनि राम्रो पाएका छौँ । तर, बिरामीहरूको चाप एकदमै हुने रहेछ । बेड अभावका बिरामीहरूलाई समस्या भइरहेको पाएका छौँ ।’ अस्पतालमा निशुल्क औषधि र निशुल्क टिकट मात्र होइन, प्रयोगशाला सेवा तथा भिडिओ एक्सरे, एक्सरे तथा इसिजि सेवा समेत उपलब्ध छ । नियमित सुगर परीक्षणमा आउने ज्येष्ठ नागरिकहरूलाई बार हेरेर निशुल्क परीक्षणको व्यवस्थापन पनि अस्पतालले मिलाएको छ । अन्य सेवामा पनि न्यनतम शुल्क ।
जनरल सर्जरी, क्षारसुत्र, पञ्चकर्म, स्त्री, बालरोग तथा नाक, कान घाँटी रोगको उपचारका लागि विशेषज्ञ चिकित्सक सेवा उपलब्ध छ । फिजियोथेरापीष्टबाटै फिजियोथेरापी सेवा उपलब्ध छ । बिहानीमा बिरामीहरूलाई आवश्यकता अनुसारको योगा र जोसुकैका लागि खुला नागरिक व्यायामशाला पनि बिजौरी अस्पतालमा उपलब्ध छ । साथै अस्पतालले आफ्नै फार्मेसी सेवा पनि सञ्चालनमा ल्याएको छ । सहुलियत मूल्यमा किन्नुपर्ने अन्य औषधिहरू अस्पताल फार्मेसीले उपलब्ध गराउँदै आएको छ । अहिले अस्पतालमा दैनिक एक सय पचास भन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् । त्यसमा अत्यधिक पायल्स र फिस्टुलाको समस्या भएका आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

