अभिभावक सचेत हुनुपनर्मो सरोकारवालाको जोड

दाङ । लागूऔषध नियन्त्रण गर्न सबैको साथ आवश्यक रहेको सरोकारवालाले बताएका छन् । प्रदेश, स्थानीय तह र सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा दाङको देउखुरीमा भएको लागूऔषध नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले लागूऔषध नियन्त्रण चुनौतिपूर्ण बन्दै गएकोले नियन्त्रणका लागि सबैको सहयोग अनिवार्य रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशका गृह सचिव लालबहादुर कवारीले लागूऔषधले समाजमा विभिन्न समस्या निम्त्याएको बताए । उनले लागूऔषधको लतमा युवा पुस्ता फसेको भन्दै यसलाई न्यूनीकरण गर्न स्कुलतहबाट सचेतना फैलाउनु पर्ने बताए । लागूपदार्थ सेवन यसको दुर्व्यसनी रोक्नको लागि अभिभावक सचेत भए मात्र यो विकृती अन्त्य हुने उनको भनाइ छ । अहिलेको समयमा अभिभावक, शिक्षक र विद्यार्थी र सरोकारवाला सबैको साझा अभ्यासले लागूऔषध नियन्त्रण गर्न सकिने बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लागूऔषध सम्बन्धी जनचेतना मूलक सामाग्रीका बारेमा जानकारी गराएका थिए ।उनले लागूपदार्थ सेवनले मानिसलाई झुट बोल्न, चोर्न र विस्तारै अपराधीक क्रियाकलापमा संलग्न गराउने र पछि गएर समाजमा यिनैले आपराधिक घटना घटाउने बताए । शारीरिक, मानसिक सामाजिक आर्थिक र कानुनी रुपमा असर पुगेको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लागूऔषध दुर्व्यसनबाट बालबालिकालाई बचाउनका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गरिरहेको बताए । नयाँ पाइला पुनर्स्थापना केन्द्रका प्रमुख सुरेश भुसालले लागूऔषध प्रयोगबाट बचाउन मुख्यतः घर परिवारले ख्याल राख्नुपर्ने बताए । उनले पछिल्लो समय सुधार केन्द्रमा आउने अधिकांश युवाहरू डिप्रेसनमा गएको अवस्थामा मात्र आइपुग्ने गरेको बताए । गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी अम्मरराज शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस