भालुबाङमा दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत

दाङ ।  दाङको भालुबाङमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर उपमहानगरपालिका २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सञ्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका ८ का २८ वर्षीय अर्पन थापा र भारतको बहराइच नानपारा बग्लुभौतपुरका ४५ वर्षीय चेतराम शिल्पकार रहेका छन् । उनीहरूको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

त्यसैगरी बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत , मकवानपुर हेटौंडा का ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ वर्षीय मुने, जुम्लाको श्रीढुम्का ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, रूकुमको साविक गोतामकोट गाविस ९ का २५ वर्षीय दीपक कामी, भारतको विहार पूर्वी चम्पारण मलाइका ६७ वर्षीय योगेन्द्र राम जोगेन्द्र रामको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरू मध्य ९ जनाको बुटवलमा र ११ जनाको बाँकेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदी पुलबाट खसेको थियो । बसमा ३७ यात्रु सवार थिए ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस