‘लागूऔषध तथा अपराध नियन्त्रण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

दाङ । दाङको तुलसीपुरमा ‘लागू औषध तथा अपराध नियन्त्रण’ सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पालिका तथा विभिन्न सरोकारवाला निकायहरूसँग उक्त अन्तरक्रिया कार्यक्रम शुक्रबार तुलसीपुरमा सम्पन्न भएको हो ।कार्यक्रमका सभापति समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले नैतिक शिक्षाको पुनर्ताजगी नहुँदा अपराधका घटनाहरू बढेको बताएका छन् ।प्रजिअ सुवेदीले समाजमा नकरात्मक प्रचार नै अपराधको मुख्य कारण तत्व भएको बताए ।
जिल्लामा बढी रहेको अपराधका अर्को मुख्य कारण तत्व लागूऔषधी पनि रहेको जिकिर गरे ।जिल्लामा लागूऔषध नियन्त्रण गर्न प्रशासनले विभिन्न खालका जनचेतना मूलक कार्यक्रम, प्रहरी प्रशासन, स्थानीय सरकार लगायतका विभिन्न निकायहरूले नियमन नियन्त्रण गर्न लागि परेको बताए । साथै आगामी दिनमा प्रजिअ सुवेदीले अभिभावक, विद्यार्थी, स्थानीय सरकार, प्रहरी प्रशासन र जिल्ला प्रशासनको समन्वयमा लागू औषध नियन्त्रणका लागि कार्यक्रम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक राम बहादुर केसीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लामा पछिल्लो वर्षको तुलनामा आपराधिक घटनामा कमी आएको बताए ।
एसपी केसीका अनुसार जिल्लामा यस आर्थिक वर्षको ६ महिनामा १४६ वटा विभिन्न खालका आपराधिक घटनाहरू घटेका छन् । जिल्लाका दश पालिका मध्यबाट सबै भन्दा बढी आपराधिक घटनाहरू घोराही र तुलसीपुर उपमहानगरपालिकामा घट्ने गरेको उनको भनाइ छ ।त्यस्तै एसपी केसीले यस आर्थिक वर्षको ६ महिनामा सबै भन्दा बढी जबरजस्ती करणीको मुद्दा ४६ वटा दर्ता भएको बताए ।विशेष गरेर करणी आफ्नै नजिकका आफन्ती छरछिमेकीबाट बालबालिका पीडित हुने गरेको उनले बताए ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले लागू औषधलाई नियन्त्रण गर्न शिक्षा र जनचेतनाको खाँचो रहेको बताइन् । त्यस्तै लागूऔषध नियन्त्रण गर्न समयतालिका पनि एक महत्वपूर्ण रहेको बताइन् । ‘थारू समुदायको महानपर्व माघ आउँदैछ । आजैदेखि गाउँघरमा माघ मान्न शुरु भैसकेको छ । थारूले वर्ष भरीमा कम्तीमा ६ पटक देउता पुज्नै पर्ने बाध्यता हुन्छ, देउता पुज्दा रक्सी बिना कुनै काम हुन् । तर देउता पुज्दा किन बिहान पुज्छन्, कि भने बेलुका पुज्छन् । त्यसैले रक्सी खाने समयतालिका बनाइनु पर्छ, उनले भनिन् ।’
साथै उपप्रमुख चौधरीले अशिक्षित वर्गलाई जनचेतना मूलक अन्तरक्रिया, जिविकोपार्जन खालका काम, सानो सानो काम गर्नेलाई पनि प्रोत्साहन गर्न सके अहिलेका युवाहरूलाई लागूऔषधको पहुँचबाट टाढा राख्न सकिने जिकिर गरिन् । त्यस्तै विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आफू मातहत रहेका उमेर समूहका विद्यार्थीहरू बढि कुलतमा फस्ने भएकोले चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले अभिभावकहरूले पनि आफ्नो बालबालिकाहरूलाई समय दिन आग्रह गरेका छन् ।बालबालिकाहरू अभिभावकसँग १८ घण्टा बस्ने तर आफूहरूसँग ६ घण्टा बस्ने भएकोले कुलतबाट बचाउन अभिभावकको भूमिका अझै अहम् हुनुपर्ने उनीहरूले औँल्याएका छन् ।
त्यस्तै लागूऔषधमा फसेकालाई पुनर्जीवन प्रदान गर्दै आएका संस्थाका सञ्चालक सुरेश भुसालले अभिभावकले बालबालिकालाई समय नदिँदा कुलतको बाटो अङ्गाल्ने गरेको बताए । जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विजय गौतमले गरेका थिए ।