लुम्बिनीमा विषयगत समिति निर्वाचन स्थगित

दाङ । लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि पुस १७ गते मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।
सभामुख तुलाराम घर्तीको अध्यक्षतामा पुस २ गते बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको थियो ।
तर, प्रदेशसभाले जारी गरेको सूचनामा सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको उल्लेख छ । प्रदेश सभाले गत असार ३० गते ६ वटा विषयगत समितिका सदस्यहरू चयन गरेको थियो । तर, समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् ।
अहिलेसम्म ६ वटा विषयगत समितिमध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ । प्रदेशमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।
