एच.आर. मिडिया हाउसद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
दाङ । एच.आर. मिडिया हाउस तुलसीपुर दाङले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । मंगलबार दाङको बबई गाउँपालिका ७ मलईमा रहेका देउती माध्यामिक विद्यालयका ५० जना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
मिडिया हाउसका प्रबन्धक एच.आर मगरको अध्यक्षतामा एवं मिडिया हाउसका सल्लाहकार विकास डाँगीको प्रमुख आतिथ्यमा एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बूढा विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रन्त केसीले विद्यार्थीहरूलाई मिडियाले न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिएका थिए ।
उनले सबै कुरामा विकट क्षेत्र मानिने ठाउँमा रहेको विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा दिएको भन्दै खुशी व्यक्त गरे । यस्तै उनले आगामी दिनहरूमा यस्तै सहयोग गर्न समेत आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले विद्यालयमा आर्थिक अवस्था निम्न भएका परिवारका छोराछोरीहरू अध्ययन गर्दै आएको भन्दै न्यानो कपडा वितरणले उनीहरूलाई धेरै राहत मिलेको समेत बताए ।
उनले भने,‘ सबै कुरामा पछाडि परेको ठाउँ भनेको मलई नै हो । यहाँ नेताहरू भोट माग्न मात्र आउने गर्दछन् । तर, यहाँको बारेमा कसैले सोचेको छैन् । आज एउटा मिडियाले हामीलाई सम्झेर आएको छ । हामी धेरै खुशी भएका छौँ । हाम्रा विद्यार्थीहरूले यो जाडो समयमा न्यानो कपडा पाएका छन् । ’

यस्तै उनले यहाँ आफूहरूले धेरै समस्या भोग्दै आएको भन्दै आफूहरूको समस्या बाहिर ल्याइदिन समेत आग्रह गरे । यसैगरी कार्यक्रममा प्रमुख अतिथि डाँगीले पश्चिम दाङको एकदमै विकट मानिने मलईमा आएर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकोमा मिडिया हाउसको प्रशंसा गरे । भैलो खेलेर बचत गरेरको पैसाले समाजिक कार्य गरेको भन्दै अहिले धेरै ठाउँमा मनोरञ्जन गरेर पैसा खर्च गर्ने गरेको हुँदा विद्यार्थीहरूलाई न्यानोकपडा दिएकोमा धन्यवाद समेत दिए ।
यस्तै उनले यस्तै समाजिक कार्य गर्न समेत आग्रह गरे । उनले भने,‘ मिडिया समाजमा रहेका हरेक कुराहरूलाई उजागर गर्ने गरेका छन् । तर, भर्खरै दाङको तुलसीपुरमा स्थापना भएको एच.आर मिडिया हाउसले न्यानो कपडा दिएर उदाहरणीय काम गरेको छ । यस्तो कार्य निरन्तर गर्दै र समाजमा भएका विभिन्न किसिमका कुराहरूलाई उजागर गर्नु पर्छ ।’
सबै कुराले विकट रहेको ठाउँमा न्यानो कपडा वितरणले विद्यार्थीहरूलाई जाडो समयमा थोरै भएपनि राहत मिल्ने उनको भनाइ थियो । यस्तै कार्यक्रममा बोल्दै मिडिया हाउसका प्रबन्धक मगरले तिहारमा खेलेको देउसी भैलोबाट संकलन भएको रकम मध्य २५ प्रतिशत समाजिक कार्यमा लगाएको बताए । उनले भने,‘ समाजिक कार्यमा केही गरौँ भनेर हामी तिहारमा भैलो खेलेको थियौँ । जसबाट बचेको रकमले आज यहाँ आएर शिशु कक्षादेखि ५ कक्षा सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा दिन पाउँदा धेरै खुशी लागेको छ । ’
यस्तै उनले यो ठाउँ निकै विकट क्षेत्र रहेको हुँदा पनि यहाँका बालबालिकाहरूलाई न्यानो कपडा दिन पाउँदा धेरै खुशी लागेको भन्दै आगामी दिनहरूमा पनि विभिन्न खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले आफ्नो यो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद दिएका छन् । विद्यालयका शिक्षक एकराज रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गरेको थिए ।

