राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै माघ ११ गते हुने मतदानका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावली प्रकाशन पुस २० गते हुनेछ। त्यस्तै दिन दाबी विरोध गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिइएको छ।

मतदाताको अन्तिम नामावली पुस २२ गते सार्वजनिक हुने। २३ मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारीविरुद्ध उजुरी दिन पाउने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ।

त्यस्तै उम्मेदवारको नाम फिर्ता लिने पुस २७ गते बिहान ११ देखि दिउँसो १ बजेसम्मको समय र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक दिउँसो १ बजेपछि गर्नेछ। उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने पुस २८ गते र माघ ११ गते मतदानको कार्यक्रम घोषणा भइसकको छ। फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ वटा पदका लागि चुनाव हुन लागेको हो।

निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रियसभा निर्वाचनको मतभार पनि परिवर्तन गरेको छ। राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेश सभा सदस्यको हकमा ५३ र पालिका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार कायम गरेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस