शान्तिनगर अस्पतालमा लगाएको तारजाली चोरी
दाङ । शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुरमा बन्दै गरेको अस्पताल बाहिर लगाएको तारजाली चोरी भएको छ । केही दिन अगाडि अस्पताल बाहिर तारबार गरिएको तारजाली हराएको वडाध्यक्ष सुनिल वलीले जानकारी दिए । उनका अनुसार २ र ३ अगाडि अस्पतालमा गरिएको तारबार हराएको हो ।उनले भने,‘ शुरुमा यहाँ खेलकुद मैदान हुँदा पनि लगाएको तारजाली हराएको थियो ।
अहिले अस्पताल बन्दै गरेको छ । यसको वरपर लगाएको तारजाली फेरि हराएको छ । पहिला करिब २ मिटर हराएको थियो । अहिले फेरि करिब ८० मिटर हराएको छ । ’ यस्तै उनले सरकारी संरचना भएको भन्दैमा कसैले पनि हेला गर्न नपाउने र तारजाली चोरी गर्नेलाई पत्ता लगाएर कानुनी कारबाही गर्ने समेत बताए ।
अहिलेसम्म करिब दुइ र अढाइ लाख बराबरको तारजाली हराएको समेत उनले बताए । अझै पनि हराउन सक्ने भन्दै यसको चोरी भएको खोजी कार्य गर्नको लागि प्रहरीलाई जानकारी दिएको भन्दै उनले आफ्नै गाउँ ठाउँमा भएका संरचनाहरू चोरी गर्ने कार्य अमानवीय भएको समेत बताए ।
उनले भने,‘ थुपारेर राखेको होइन्, पोल गाडेर लगाएको तारबार हराएको छ । मेरो वडा मेरै ठाउँमा यसरी तारजाली चोरी हुँदा मलाई पनि नराम्रो लागेको छ । यो बन्न लागेको संरचना भनेको यहाँका नागरिकहरू लागि हो । आफ्नै ठाउँमा बनेको संरचनाका सामाग्री चोरी हुनु दुखद कुरा हो ?’ उनका अनुसार १५ सैयाको निर्माण हुन लागेको अस्पतालको संरचना निर्माण कार्य अहिले पनि जारी रहेको छ । यस्तै उनले यस संरचनाको संरक्षण गर्न दायित्व सबैको भएको भन्दै सबै स्थानीयले ध्यान दिनु पर्ने समेत बताए ।