तुलसीपुरमा सयपत्री फुल र मालाको मुल्य निधारण

दाङ । तुलसीपुर उपमहानगरपालिका प्लाष्टिकजन्य फूलहरू बिक्री वितरणमा कडाइका साथ रोक लगाएको छ , भने उपमहानगरमा व्यवसायिक रुपमा गरिएका सयपत्री फूल र  मालाको मूल्य पनि निर्धारण गरेको छ ।  बिहीवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवालासँग गरिएको छलफलपछि फूल तथा मालाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।

तुलसीपुरमा १५ जना युवाले व्यवसायिक र सरकार तथा  निजी गरी ४ वटा विद्यालय गोरखा मोडेल कलेज ,तुलसीपुर बहुप्राविधिक शिक्षालय, गुरु जजुर नमुना मावि र अमर मावि उरहरीका विद्यार्थीले तिहारलाई लक्षित गरि फूल खेती गरेका छन ।

तुलसीपुर १२ मा रहेको तुलसीपुर मेट्रो कलेजले गत वर्षदेखि फूलखेती गर्दै आएको छ । पहिलो वर्ष फुलबाट राम्रो आम्दानी भएपछि विद्यार्थीहरू उत्साहित भएर यस पटक पनि फुलको खेती गरेको कलेजका प्रमुख बसन्त आचार्यले बताए । उनका अनुसार पछिल्लो समय व्यवसायिक फूलखेती गर्ने क्रममा बढिरहेको भन्दै चाडपर्व लक्षित मात्र नभइ अन्य समयमा पनि फुलको प्रयोगमा ध्यान दिनु पर्ने बताए ।

उनले भने,‘ गत वर्ष राम्रो भएपछि यस पटक पनि कलेजले फूलखेती गरेको छ । तर, यहाँ विशेषगरी तिहार लक्षित मात्र हुन्छ । यो भएमा फूलखेती बढ्न सक्दैन । अब चाडपर्वमा मात्र नभइ अन्य समयमा पनि फूलको प्रयोग गर्ने बानी बसाल्न उपमहानगरले नीति बनाउन जरुरी छ । ’यस्तै उनले सबै फुल व्यवसायीहरूमा मूल्य एकरूपता हुन जरुरी रहेको समेत उल्लेख गरे ।

यस्तै गोरखा मोडेल कलेज तुलसीपुरले पनि यस वर्षदेखि फूलखेती गरेको छ । तुलसीपुर ६ गोलौरामा जग्गा भाडामा फूल खेती गरेको छ,  कलेजका प्रमुख पूर्ण बिक्रम डाँगीका अनुसार पढ्दै, सिक्दै कार्यक्रम अन्तर्गत विद्यालयले फूलखेती शुरु गरेको हो । यस्तै उनले बजारमा फुलको मूल्य एकरूपता नहुँदा समस्या भइरहेको भन्दै अब उपमहानगरले निर्धारण गरेपछि  सहज भएको बताए ।उनले भने,‘ आफूखुशी मूल्य गर्दा सबैलाई असर पुग्न सक्छ ।

सबैलाई एउटै किसिमको मूल्य भएपछि सबैलाई फाइदा हुन्छ । फुल्न किन्ने नागरिकहरूलाई पनि असर हुँदैन । हाम्रो फुलले पनि बजार पाउन सक्छ ।’ एकअर्काको प्रतिस्पर्धा गरेर कुनै पनि व्यवसाय सफल नहुने समेत उनको भनाइ छ ।   यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले उपमहानगरले प्लाष्टिकजन्य फुल  रोक लगाएको प्रति धन्यवाद दिए ।

उनले कुनै पनि व्यवसाय गर्दा फरक फरक भएपछि मात्र सहज रुपमा बजार पाउन सक्ने भएकाले आगामी दिनमा सबैले ध्यान दिनु पर्ने बताए । उनले भने,‘ हाम्रो संस्कृति यस्तो रहेको छ । मैले कुनै एउटा व्यवसाय गरे, अरुले पनि त्यही गर्छन् । जसले गर्दा सबै व्यवसाय डुब्ने नै हुन् । त्यसैले सबैले फरक फरक व्यवसाय गर्न जरुरी छ । अबका दिनमा उपमहानगरले यसमा ध्यान दिनुपर्छ ।’

यस्तै उनले तुलसीपुरमा गरिएको फूलखेतीको बजारिकरणमा संघले सहयोग गर्ने समेत बताए । उनले तुलसीपुरमा आश्वयक भन्दा बढि भएको फूलहरू बाहिर पठाउनका लागि आफूहरूले सहजीकरण गर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले स्थानीय फुल व्यवसायीहरूले उत्पादन गरेको  फूलको बजारिकरणमा सहजता लागि न्यूनतम  मूल्य निर्धारण गरिएको बताए ।

उनका अनुसार सयपत्री फुललाई होलसेल मूल्य प्रतिकेजी  साढे तीन सय र फुटकरमा चार सय र  प्रतिमाला २ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यस्तै स्थानीय कृषक तथा व्यवसायीलाई फूल मालाहरू बिक्री वितरणमा सहयोग गर्न  तुलसीपुरका विभिन्न चार स्थानहरू उत्तरमा अरनिको मैदान, दक्षिणमा तरकारी तथा फलफूल परिसर, पश्चिममा बसपार्कको कोसेली घर र पूर्वमा घोराही रोडमा रहेको तुलसी मार्टलाई तोकेको समेत बताए ।

यस्तै तुलसीपुर बजारमा प्लाष्टिकका मालाहरू विस्थापित गर्नका लागि सबै सरोकारवालाहरूले संयुक्त रुपमा अनुगमन गर्ने र प्लाष्टिकका माला बिक्री गर्दै आएका व्यवसायीलाई फूलका मालाहरू बिक्री वितरण गर्न आग्रह गर्ने समेत बताए ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस