चिस्यान केन्द्र प्रयोगमा नआउँदै भासियो

दाङ ।  दंगीशरण गाउँपालिका ४ का लोक बहादुर भण्डारीलाई हेकुलीमा कोल स्टोर बन्न लागेपछि  धेरै खुशी लागेको थियो । अब घरमा उत्पादन भएका तरकारी लगायतका  बस्तुहरू कोल्ड स्टोरमा राख्ने पाइने भएपछि उनी शुरुमा निर्माण हुँदादेखि पटक पटक हेर्न  पनि गए । भवन पनि निर्माण भयो ।

अब त राख्न पाइन्छ, की भन्ने बेला भवन एकाएक भासिएर पानीमा तैरिएको डुंगा  जस्तै भएपछि पनि चकित परेका छन् । भण्डारी मात्र  नभइ भवनको त्यस्तो  अवस्था देखेपछि स्थानीयहरूलाई पनि अनौठो लागेको  थियो । बाहिरबाट  हेर्दा भवनको सबै काम पुरा भएको जस्तो देखिने भएयता पनि भवन भने भासिएर प्रयोग विहीन  बनेको छ ।

जसका कारण लोक बहादुरले भवनको प्रयोग नै गर्न नपाई बाहिरबाट हेरेर चित्त बुझाउ बाध्य भएका छन् ।उनले भने,‘ अहिले भवनको पुरै भासिएको छ । चारैतिरको जग भासिँदा हामीमा जुन आशा थियो । अहिले त्यो निराशामा परिणत भएको छ । हाम्रा गाउँपालिकामा कोल्ड स्टोर बन्यो, भनेर हामी खुशी पनि थियौँ ।

हामीले उत्पादन गरेको साग, सब्जी राख्न पाइन्छ, भन्ने आशा थियो । तर, अहिले निराश बनायो ।’ असारका महिनासम्म निर्माण गर्दा जमिनसम्म भवनको लेबल मिलेको थियो । तर, साउनमा पानी आएर पुरै भरिएपछि त्यो पुरै घुमेको समेत उनले बताए ।

पानीका कारण पिलरहरू तलमाथि भएको अवस्थामा भवन निर्माण भएको हुँदा अहिले पूर्व, उत्तर र दक्षिणतर्फ भवनको जगहरू  मासिएको छ । भत्किएको अवस्थामा रहेको उनको भनाइ छ । यस्तै अर्का स्थानीय रेशम वलीका अनुसार यो संरचना बनाउँदा नै समस्या देखिएको हुँदा सम्बन्धित निकाय गैर जिम्मेवार बन्दा यस्तो भएको बताए । उनले भने,‘ पहिला यसको जग खन्दा नै पानी आएको थियो । तलको पिलरहरू मात्र बनेको अवस्थामा पानीमा डुंगा हल्लिए  जस्तै  हल्लिन्थ्यो । बच्चाहरू त्यसमा खेल्न जाने गर्दथे । त्यो बेला नै ध्यान  दिएको  भए आज यस्तो हुने थिए ।’

गैरजिम्मेवार पनका कारण अहिले भवन  पानी तैरिएको जस्तो भएको भन्दै उनले राज्यको  लाखौँ पैसा बालुवामा पानी हालेको जस्तै भएको समेत बताए । अब प्रयोग गर्न पाइन्छ, कि भन्ने अवस्थामा  भवन भासिँदा सबै दंग परेको समेत उनले बताए । उनले भने,‘ शुरुमा बनाउँदा त जमिनबाट पानी आएको थियो । पछि असर गर्छ, भन्ने सोचेको भए आज यस्तो हुने थिएन । यो डिजाइन गर्ने इन्जिनियर कस्ता  किसिमका हुन् । राज्यको पैसामा मात्र सक्ने काम भयो । अब यो प्रयोग गर्न नै मिल्दैन् । शुरुमा काममा लापरबाही गर्दा अहिले भवनको बिजोग भयो ।’

कोल्ड स्टोर भवन २०७६ सालमा निर्माण सुरु भएको थियो । गत वर्ष असोजमा भवन निर्माण कार्य पूरा भएको हो । गाउँपालिका इन्जिनियर प्रमोद गौतमका अनुसार डीपीआर गर्दा जमिन मुनीको पानीको लेबल ख्याल नगरी काम गर्दा अहिले यस्तो  समस्या भएको हुन सक्छ । डीपीआर र काम शुरु अर्को इन्जिनियर हेरेको र आफूले भवन निर्माणको काम बिचबाट मात्र हेरेको समेत उनले बताए ।

दुई तले कोल्ड स्टोर बनाउनको लागि  केन्द्रका लागि गाउँपालिकाको आधा र लुम्बिनी प्रदेश सरकारको आधा गरी एक करोड ५ लाखमा टेन्डर आह्वान भएको थियो ।  यसको निर्माणको जिम्मा लोकमणि बिल्डर्सले निर्माण घोराहीले करिब ९२ लाखमा जिम्मा पाएको थियो ।  यो भवनको डिजाइन गर्दा तत्कालीन समयमा इन्जिनियर अंकित आचार्य थिए ।

अहिले इन्जिनियर  गौतमले अब दुई तला भन्दा पनि एक तलासम्म प्रयोग गर्न सकिन्छ, की भन्नेमा  हामीहरूले कोसिस गर्दछौँ । सकभर एक तलालाई मात्र सञ्चालन गर्ने आफूहरू सोचमा रहेको भन्दै अहिलेसम्म यस्तो घटना  कहिँ नभएको समेत उनले बताए । उनले भने,‘ धेरै ठाउँमा यस्ता कामहरू गरिएको छ । तर, अहिलेसम्म यस्तो कहिँ भएको थिएन । डीपीआरमा ख्याल नगर्दा यस्तो भएको हुनसक्ने मेरो अनुमान हो ?’

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस