हाम्रो पहुँचको १७औँ वार्षिक साधारण सभा

दाङ ।  तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८० / २०८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु वर्षका लागि प्रस्तुत गरेको  नीति तथा कार्यक्रम छलफल पश्चात बहुमतले पारित भएको हो ।

संस्थाले चालु वर्षदेखि विदेशमा रहेका सदस्यका आफन्तहरूले पठाउने पैसाको कारोबार संस्थाबाट गर्नका लागि ‘इनटरनेशनल मनी एक्सचेन्ज’ कारोबार सञ्चालनमा ल्याउनेदेखि नगद कारोबारलाई व्यवस्थित बनाउन प्रविधिको प्रयोगलाई जोड दिने भएको छ ।

यस्तै चालु वर्षमा संस्थाले शेयर सदस्य वृद्धि २२ दशमलव ७१ प्रतिशतले गर्ने,  शेयर पुँजी १५ दशमलव ४७ प्रतिशतले वृद्धि गर्ने, कुल कारोबारलाई १० प्रतिशत वृद्धि गर्ने, बचतलाई ३५ प्रतिशतले वृद्धि गर्ने, खुद बचत ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ । सहकारी संस्थाले आगामी माघ १६ मा वार्षिक उत्सव विषेश कार्यक्रम गर्ने पनि साधारण सभाले पारित भएको छ ।   साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, भने संस्थाका कोषाध्यक्ष विजय सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा ६६ करोड ८ लाख ५ हजार ६४० बराबरको कारोबार गरेको छ, भने चालु वर्षमा ६९ करोड ९७ लाख ५७ हजार २१० को कारोबार गर्ने लक्ष्य राखेको छ ।  साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक सुर्य प्रसाद शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन संस्थाका ज्येष्ठ सल्लाहकार ढुण्डीराज खनालले गरेका थिए  ।

साधारण सभामा संस्थाका सल्लाहकार भरत भण्डारीले हाम्रो पहुँच बहुउद्देयीय सहकारी संस्थाले आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सहकारीले सानो सानो पुँजी संकलन गरेर ठुलो काम गर्न सफल भएको बताए ।  संस्थाका उपाध्यक्ष बुद्धिराम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच माविका प्रधानाध्यापक  डीआर भण्डारीले गरेका थिए । 

सहकारीले रेडियो हाम्रो पहुँचसहित  बचत तथा ऋण, सहकारी पेट्रोलपम्प, हाम्रो पहुँच विद्यालय र डेरी विभाग गरी पाँच वटा विभाग सञ्चालन गरेको छ । सहकारीले १ सय बढीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको छ, भने सहकारी चार हजार बढी शेयर सदस्य आवद्ध छन् । 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस