गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत

गढवा । दाङको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर अमरराज शर्मालाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगायतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत गरेका हुन् । नव प्रमुख प्रशासकीय अधिकृत शर्मा जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट सरुवा भई गढवा गाउँपालिकामा आएका हुन् ।

शर्माले गढवा गाउँपालिकाको पांचौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गरेका हुन्, भने यसभन्दा पहिले ऋषि राम केसी, नोखिराम ओली, लाल बहादुर योगी र आशिष चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा गढवा गाउँपालिकाकामा काम गरिसकेका हुन् । नेव बहादुर वली कार्यकारी अधिकृत र बुद्धिमा चौधरी निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सबैको साथ सहयोगले समग्र गढवा गाउँपालिकाको बिकासमा सहयोग पुग्ने बताए । गढवा गाउँपालिकालाई नमुना गढवा गाउँपालिका बनाउन जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत शाखाका प्रमुखहरु, कर्मचारी, पत्रकार लगायतकाको साथ सहयोग र सुझावले पालिका समृद्ध गढवा गाउँपालिका बन्ने बताए । साथै नव प्रमुख प्रशासकीय अधिकृत शर्मा सफल कार्यकालको शुभकामना समेत दिए ।

त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत गर्दै कर्मचारी र जनप्रतिनिधि बिचको समन्वयकारी भुमिका निर्वाह गर्न सके पालिकाको बिकास सम्भव हुने बताए । गढवा गाउँपालिकामा सम्भावना र चुनौतीको सामना गर्नु पर्ने बताउँदै समग्र गढवा गाउँपालिकाको बिकासको लागि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरुको समन्वय आवश्यक रहेको बताए ।

त्यसैगरी स्वागत कार्यक्रममा आफ्नो बिचार राख्दै नव प्रमुख प्रशासकीय अधिकृत शर्माले आफ्नो निजामति सेवाको २५ बर्षको अनुभव रहेको बताउँदै सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सबैको साथ सहयोग र समन्वयले अघि बढ्ने बताए । पालिकाको कार्य सम्पादन राम्रो हुन टिम वर्कमा काम गर्नु पर्ने बताउँदै जनप्रतिनिधिले मात्रै हुन नसक्ने बताए । गढवा गाउँपालिका राम्रो बनाउने वा आजकै अवस्थामा छोड्ने जनप्रतिनिधि, शाखा प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरुको हातमा रहेको बताए ।

आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस