इजरायलबाट स्वदेश फर्कने नेपालीको अनलाइन रजिष्ट्रेशन सुरु

Old City from the Mount of the Olives

काठमाडौँ । नेपाल फर्कन इच्छुक नेपालीको स्वदेश फिर्तीका लागि इजरायलमा अनलाइन रजिष्ट्रेशन सुरु गरिएको छ। त्यहाँस्थित नेपाली दुतावासका अनुसार नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेशन सुरु भइ दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ।

दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको पनि दुतावासले जनाइएको छ।

आज साँझ विज्ञप्ति जारी गरी राजदुतावासले चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइसकिएको जानकारी दिएकाे छ। अन्यको पनि उद्धार जारी छ। सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजीकार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तिब्र गरिएको छ।

हाल युद्ध भइरहेको इजरायल गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ। अहिलेसम्म सो क्षेत्रबाट ३२ जनाको उद्धार भइरहेको छ ।

हाल केही विद्यार्थीहरूको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका दुतावासले जनाएको छ । इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न दुतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस