आरसी थारू मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा विकास गरिने : मन्त्री खनाल
र्दिया । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकलसेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आवश्यकता रहेको बताए । जिल्ला अस्पताल बर्दिया, आरसी थारू मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा आयोजित अन्तरकृया कार्यक्रममा स्वास्थ्य मन्त्री खनालले बर्दियाको आरसी थारू मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा विकास गर्न खोजेको बताए ।
यसका लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिँदै मन्त्री खनालले सिकलसेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघीय सरकारसँग पनि आफूले कुरा गरेको बताए । स्थानीय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भिर रहेको बताए ।
सीमित बजेटका बिच पनि सरकारले सुरु गरेका कामको प्रतिफल नागरिकले पाउन थालेको भन्दै मन्त्री खनालले सरकारले उपलब्ध गराएका सेवाको बारेमा आम नागरिकलाई जानकारी दिन आवश्यक रहेकोमा जोड दिए । बारबर्दियामा आयोजित छलफलका सहभागीहरूले सिकलसेलका बिरामीको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा खुशी व्यक्त गर्दै सिकलसेलको औषधीलाई स्वास्थ्य बिमामा समावेश गर्न आग्रह गरेका थिए ।
यस्तै सिकलसेलका बिरामीहरूले सिकलसेलका बिरामीको उपचारका लागी छुट्टै अस्पताल बनाइन पनि माग गरेका थिए । स्वास्थ्य मन्त्री खनाल ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको द्वन्द्व पीडितहरूको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्बन्धी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय, सी एम सी नेपाल र दातृ निकायहरू बिचको अन्तरकृया कार्यक्रममा पनि सहभागि रहेका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले द्वन्द्व प्रभावित सहित सबै प्रकारका हिंसा वा द्वन्द्व प्रभावितलाई मनोसामाजिक परामर्श चाहिएको भन्दै तिनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताए । एक पक्षले मात्र काम गरेर नहुने भन्दै मन्त्री खनालले नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले यसमा बढि ध्यान दिनुपर्ने बताए । मानसिक लगायतका नसर्ने रोगका विरुद्ध तिन तहका सरकारले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड बताए ।