ज्येष्ठ नागरिकलाई पौष्टिक आहारा प्रदान

दाङ ।  तुलसीपुर उपमहानगरपालिका  १८ ले ज्येष्ठ नागरिकहरूलाई पौष्टिक आहारा प्रदान गरेको छ । वडाको आयोजनामा ज्येष्ठ नागरिकहरू प्रति नगरको योगदान भन्ने मूल नारा सहित बिहीबार ज्येष्ठ नागरिक भवन बिजौरी शिवालयमा ज्येष्ठ नागरिकहरूलाई पौष्टिक आहारा प्रदान गरिएको हो । वडा भित्र रहेका ३० वटा टोलहरूबाट ७५ वर्ष उमेर नाघेका २ सय ज्येष्ठ नागरिकहरूलाई उनीहरूको स्वास्थ्य लाभको कामना गर्दै चेवन प्रास, हर्लिक्स लगायतका पौष्टिक आहारहरू प्रदान गरिएको हो ।

वडाध्यक्ष माधव वलीले ज्येष्ठ नागरिकहरू समाजका जिउँदा  भगवान भएको र उनीहरूको सम्मानका लागी वडाले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए । उनले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यको चिन्तन गर्दै विभिन्न समयमा गाउँ गाउँमा चिकित्सकहरूको टोली पठाई स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहेको बताए ।

उनले ज्येष्ठ नागरिकहरूलाई स्वस्थ राख्नका लागी उनीहरूको खानपानमा विशेष ध्यान दिन सकियो र उनीहरूलाई धूम्रपान, मद्यपान लगायतका कुलतबाट टाढा राख्न सकियो भने उनीहरूको दीर्घायु हुने र उनीहरूबाट सबैले प्रेरणा लिन सकिने जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथि ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, ज्येष्ठ नागरिक समाज तुलसीपुर उपमानगरपालिकाका अध्यक्ष पूर्ण बहादुर खड्का, शिवालय मन्दिर व्यवस्थापन समितिका महासचिव रविराज गौतम, सहभागीको तर्फबाट हिरादेवी अर्याल र खिम कुमार उपाध्यायले वडा कार्यालयले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै कामहरू गरि ज्येष्ठ नागरिकहरूलाई खुसी बनाउन भूमिका खेलोस् भन्दै खुसी व्यक्त गरेका थिए ।

 ज्येष्ठ नागरिक समाज तुलसीपुर उपमहानगरपालिका  १८ का अध्यक्ष नेव बहादुर खत्रीको अध्यक्षतामा वडाध्यक्ष  वलीको प्रमुख आतिथ्यतामा तथा ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको विशिष्ट आतिथ्यतामा  कार्यक्रम भएको थियो । त्यस्तै उक्त कार्यक्रम तुलसीपुर १८ का वडा सदस्य शीतल प्रसाद बूढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुलसीपुर १८ की वडा सचिव रामकुमारी मरासिनीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस