दाङमा बितेको २ महिनामा सर्पले ११६ जनालाई डस्दा ६ जनाको मृत्यु

दाङ । जिल्लामा बितेको दुई महिनामा ११६ जनालाई सर्पले डस्दा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको तथ्यांक अनुसार गत साउन र भदौ महिनामा गरी ६ जनाको ज्यान गएको छ, भने ११० जना घाइते भएका थिए ।
कार्यालयका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लका अनुसार साउन महिनामा ५ जना र भदौ महिनामा एक जना गरी एक महिना र ५ पुरुष गरी ६ जनाको ज्यान गएको हो । ज्यान जानेहरूमा घोराही उपमहानगरका एक जना, लमही नगरपालिकामा एक जना, शान्तिनगर गाउँपालिकामा दुई जना, गढवा र राजपुर गाउँपालिकाका एक / एक जना रहेका छन् । यस्तै ६० जना महिला र ५० जना पुरुष घाइते भएका थिए ।
यस्तै, सर्प दंशका कारण साउन महिनामा ७३ जना घाइते भएका थिए, भने भदौ महिनामा ४३ जना घाइते भएको उनको भनाइ छ । घोराहीमा १० जना, तुलसीपुरमा ३९ जना, लमहीमा १२ जना, बबई गाउँपालिकामा १९ जना, शान्तिनगरमा ११ जना, दंगीशरण र राप्तीमा ५ / ५ जना, गढवामा दुई र राजपुरमा ७ जना घाइते भएको प्रवक्ता मल्लले जानकारी दिए ।
उनका अनुसार जिल्लामा सर्प दंशका घटनाहरू राती सुतिरहेको बेलामा र खेतीबारीमा काम गर्ने बेलामा भएका छन् । यस्तै, रातीमा सर्पले डस्दा कुन सर्प हो ? भनेर पहिचान नहुँदा र खेतबारीमा काम गर्दा सर्पले डस्दा अस्पतालहरू टाढा हुँदा मानिसहरको ज्यान जाने गरेको उनको भनाइ छ । यस्तै, घाइतेहरूलाई अस्पताल ल्याउन स्थानीय सरकारबाट सहयोग हुने गरेको भएयता पनि समयमा अस्पताल पु¥याउन नसक्दा ज्यान जाने गरेको समेत उनले बताए ।
उनले भने,‘ समयमा अस्पताल ल्याउन सक्दा धेरैलाई बचाएको अवस्था पनि रहेको छ । केही घटनाहरूमा ढिला ल्याँउदा ज्यान गएको अवस्था हो । त्यसैले सर्पले डसेमा कुन सर्प हो ? पहिचान गरेर झारफुक तर्फ नलागी समयमा अस्पताल पु¥याउन सकेमा बिरामीको ज्यान बच्न सक्छ । त्यसैले यसतर्फ ध्यान दिन जरुरी छ ।’
सर्प दंश उपचार केन्द्रमा अविषालु सर्पले टोकेका धेरै
दाङको गढवा गाउँपालिकामा रहेको दाङ देउखुरी सर्प दंश उपचार केन्द्रका गत आर्थिक वर्षमा विषालु सर्पले डसेका भन्दा अविषालु सर्पले डसेका धेरै उपचार गर्न आएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जम्मा १९७ जना उपचार गर्न आएका थिए । त्यसमा कीरा तथा बिच्छीले टोकेका २८ जना जसमा १४ जना महिला र १४ जना पुरुष रहेका थिए । यस्तै अविषालु सर्पले डसेका १६५ जनामा ८१ जना महिला र ८४ जना पुरुष रहेका थिए, भने विषालु सर्पले डसेका ४ जना रहेका थिए । जसमा ३ जना पुरुष र एक जना महिला रहेका थिए ।
राप्ती प्रादेशिकमा भेन्टिलेटर सेवा नहुँदा समस्या
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी ७४ जना सर्पले डसेका ब्यक्तिहरू उपचार गर्न आएका थिए । त्यसमा केही अविषालु र विषालु सर्पले डसेका रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा धेरै गोमन सर्पले डसेका उपचार गर्न आउने गरेको समेत अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारीले बताए । उनका अनुसार दाङमा गोमन सर्पका र पहाडी जिल्लामा अन्य विषालु सर्पले डसेका बिरामीहरू आउने गर्दछन् ।
धेरै विषालु सर्पले डसेकाहरू उपचार गर्न ढिला ल्याउँदा ल्याउँदै बाटो मै ज्यान जाने र कोहीको उपचारका क्रममा पनि ज्यान जाने गरेको उनको भनाइ छ । अस्पतालमा भेन्टिलेटर सेवा नहुँदा सर्प दंशका बिरामीले पूर्ण रुपमा उपचार गर्न कठिनाइ भइरहेको समेत उनले बताए । उनले भने,‘ हामीसँग कोभिडको बेला भएको भेन्टिलेटर रहेको छ । त्यो पनि बिग्रेको हुँदा सञ्चालन छैन् । यसलाई बनाउने प्रक्रियामा रहेका छौँ । अबको एक हप्तामा त्यो बन्छ होला । त्यो बन्यो, भने हामीलाई उपचार गर्न सहज हुन्छ ।’
यस्तै उनले सर्पले डस्दैमा विष लागेको हुन्छ, भन्ने पनि नहुने भन्दै कुन सर्पले डसेको हो ? त्यो चिन्न सकेमा सहज हुने समेत बताए । सर्पले डसेका ब्यक्तिहरूलाई विष लागेको लक्षण अनुसार उपचार गरिने उनको भनाइ छ ।
उनले भने,‘ कहिँले काहीँ गोमन सर्पले डसेको भएयता पनि त्यसको विष नगएको पनि हुन सक्छ । नेपालभर जुन सर्पले डसे पनि चलाउने एउटै औषधि नै हो ? तर, सर्पले डस्ने बित्तिकै झारफुक गर्न तर्फ लाग्नु हुँदैन । समय मै अस्पताल ल्याउन सकेमा बिरामीलाई बचाउन सकिन्छ ।’