दाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, २ जना घाइते

दाङ । दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ, भने २ जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका करिब ३९ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा सोही ठाउँकी करिब वर्षीया रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनी आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा एक्कासि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै २ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । गम्भिर घाइते हुनेमा सोही ठाउँ ४५ वर्षीय बीर बहादुर हमाल र करिब ६५ वर्षीया कमला कुमारी हमाल रहेका छन् ।
कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ । बीर बहादुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुरलाई निजकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ । खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।