तुलसीपुरमा पहिलो पटक आकाशमा प्याराग्लाइडिङ सफल परीक्षण

दाङ । तुलसीपुरको आकाशमा साहसिक खेल मानिने प्याराग्लाइडिङको सफल परीक्षण उडान पूरा भएको छ। तुलसीपुर उपमहानगरपालिका  १९ स्थित धार्मिक एवं पर्यटकीय स्थल छिल्लीकोटको पहाडबाट आइतबार र सोमबार दिउँसो प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो। तुलसीपुरको आकाशमा पहिलो पटक प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो। कास्की पोखराबाट आएका पाइलट कृष्णबहादुर क्षेत्रीले लगातार दुई दिन सफल परीक्षण उडानको काम सफलतापूर्वक गरिएको बताए। ‘भौगोलिक र वातावरणीय दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने पनि दाङको छिल्लीकोट प्याराग्लाइडिङ उडानका लागि बेष्ट ठाउँ रहेछ,’ क्षेत्रीले भने, ‘हामीले दुई दिन लगातार दुई उडान सफलतापूर्वक पूरा गरेका छौं।’

तर, उनले नियमित उडान भर्नका लागि छिल्लीकोटको पहाडको डाँडोमाथि टेकअफ गर्ने ठाउँ बनाउन भने आवश्यक रहेको प्रतिक्रिया दिए। ‘छिल्लीकोटमा जिपलाइन पनि निर्माण गरिएको रहेछ,’ उनले भने, ‘त्यो दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने छिल्लीकोट भविष्यका लागि प्याराग्लाइडिङका लागि बेष्ट स्पट हुन सक्छ।’

तुलसीपुर क्षेत्रमा कृषि फर्महरू सञ्चालन गर्दै आएका तुलसीपुरका तीन युवा रविन्स डाँगी, बाबुराम घिमिरे र जय गौतमका साथै घोराहीका मोहन बस्नेतले मिलेर प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान गर्ने उद्धेश्यले पोखराबाट पाइलटसहित आवश्यक सामग्री  ल्याई तुलसीपुरको छिल्लीकोटमा परीक्षण उडान गरेका थिए।

आफूहरूको सपना पूरा भएको हुँदा भविष्यमा फ्लाइ स्कुल खोल्ने सोचका साथ काम अगाडि बढाइएको डाँगीले बताए। अर्का युवा घिमिरेले हप्ता दिन भित्रै कम्पनीको नाम टुंगो लगाई दर्ता प्रक्रियामा लगेर प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए। स्थानीय प्रशासन, स्थानीय सरकार लगायतसँग समन्वय गरी कम्पनी दर्ता गरिने उनले बताए।

टेकअफ र ल्याण्ड गर्ने ठाउँको जग्गा दर्ता गर्नुपर्ने भएको हुँदा सोही अनुरूप आफूहरू अगाडि बढेको घिमिरले जानकारी दिए। छिल्लीकोटको पहाडबाट दुई दिनको सफल परीक्षण उडानका क्रममा स्थानीय भित्री सक्राम, स्यालापानी कालोखोला किनार र श्रीचौरमा ल्याण्डिङ गरिएको हुँदा ती ठाउँहरूका जग्गा दर्ता प्रक्रियाका लागि सम्बन्धित निकायसँग प्रस्ताव राखिने घिमिरले बताए।

उडान भर्नुभन्दा पहिले स्थानीय वडा प्रमुखसँग अनुमति लिएको र उडान सफल भएको देखेर स्थानीय जनप्रतिनिधि पनि खुसी भएको उनले प्रतिक्रिया दिए। छिल्लीकोटबाट सोझै झर्दा १२ मिनेट र अन्य ठाउँमा ल्याण्डिङ गर्दा कम्तीमा ४५ मिनेट जति आकाशमा आफूहरू उडाउन सफल भएको डाँगीले जानकारी दिए।

तुलसीपुर–१९ का वडाध्यक्ष प्रेम योगीले भने प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभन्दा पहिला युवाहरूको टिमले आफूसँग अनुमति लिएको बताए। ‘उहाँहरू आएर पोखराको टिम हौं भनेर भन्नुभयो र मैले स्थानीय कसैलाई पनि नउडाउनु होला आफूहरू मात्रै उड्नुहोला भनेर अनुमति दिएको थिएँ,’ उनले भने, ‘एक दिन म पनि रमाइलो लागेर सक्राममा त्यो उडेर आफैं हेर्न गएँ र आफ्नै वडाको आकाशमा सफल परीक्षण भएको देखेर साह्रै मन रमायो।’

परीक्षण उडानबाट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटको पहाडसँग अथाह सम्भावनाको उजागर भएको उनले बताए। ‘अब छिल्लीकोटबाट साहसिक मानिने प्याराग्लाइडिङको सफल उडान गर्न सम्भव छ भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘जसले जिल्लाको पर्यटन प्रवर्द्धन र समृद्धिमा टेवा पुग्ने आशाको सञ्चार गरेको छ।’

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस