आयआर्जन गर्न सामुहिक धानखेतीमा मुक्त कम्लहरी

दाङ । दाङमा रैथाने ‘तिल्की’ धानको खेतिको सुरुवात गरिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको ‘तिल्की’ धानको खेति सुरुवात गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीमा करिब दुई विघा जग्गा भाडामा लिएर तिल्की जातको धानको खेति गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भएर अर्गानिक खेती अन्तर्गत तिल्की धानको खेति सुरु गरिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।

पूर्व मुक्त कम्लरीहरुले सञ्चालन गरेको गन्यारी कृषि सहकारी संस्था मार्फत उक्त धान खेति सुरु गरिएको उहाँको भनाई छ । तिल्की धानको चामल मिठो पनि हुने र गर्मी पनि खप्न सक्ने धान हो । यो जातको धान विगतमा दाङमा धेरैले लगाउने गरेका थिए । जुन धान दाङको पहिचान रहेको थियो । तर, पछिल्लो समय हाईव्रिड जातका धान कृषकको रोजाई बनेपछि यो धान लोप हुने अबस्थामा रहेको थियो ।

त्यस्तै सहकारीले १० कठ्ठा जग्गामा रैथाने सिमठारो जातको धान पनि लगाएको छ । धान भित्र्याएपछि सोही जग्गामा रैथाने प्याज, लसुन र आलु खेति गर्ने तयारी रहेको सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले बताइन्। उनीका अनुसार अझै २५ हेक्टर क्षेत्रफल जग्गा भाडामा लिएर अर्गानिक खेति गर्ने तयारी छ । सबै खालका खेतिमा अर्गानिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए।

उनले १०/१५ बर्षमा दाङलाई नै अर्गानिक उपत्यका बनाउने योजना अनुसार यो कार्यक्रम तयार गरेको बताए । यो कार्यक्रम दुई बर्ष चलेपनि प्रत्येक किसानलाई अर्गानिक खेतिका बारेमा बुझाउने उद्देश्य रहेको समेत उनको भनाई छ । लुम्बिनी प्रदेश सरकारले दाङलाई तिल्की धान र आलुको हब बनाउने योजना समेत बनाएको छ । बिषादीजन्य खानेकुराले गर्दा मानिसमा क्यान्सरजन्य रोग लाग्ने भन्दै अर्गानिक खानेकुरामा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले बताए । अहिले स्थानीय सरकारहरुले पनि अर्गानिक खेतिलाई जोड दिने गरेको छन् ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अर्गानिक खेतीका बारेमा किसानहरुलाई बुझाउने गरि कार्यक्रम तय गरिएको बताइन् ।किसानलाई अर्गानिक खेतितर्फ आकर्षित गराउनकालागि बिभिन्न तालिम तथा सामग्री उपलब्ध गराईने भएको छ । त्यसका लागि संयुक्त राष्ट्र संघीय विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमले ४८ लाख सहयोग समेत गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस