टिकटक, फेसबुक हेरेर समय खेरा नफालौँ : डा. केसी

दाङ । लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले टिकटक, फेसबुक हेरेर समय खेरा नफाल्न आग्रह गरेका छन् । आइतबार तुलसीपुर ६ रहेको सम्झना टोल विकास र श्री आमा समुहले निर्माण गरेको सामुदायिक भवनको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले भने,‘ टिकटक, फेसबुक हेरेर मात्र आर्थिक उन्नति हुँदैन । कुनै पनि ब्यक्तिहरू उत्पादनसँग जोडिए मात्र आर्थिक उन्नति हुन्छ । त्यसमा पनि महिला दिदी बहिनीहरू उद्यमतिर लाग्नु पर्छ । पुरुषहरू गफ मात्र गर्ने भएकाले महिला दिदी बहिनीहरू गर्ने गर्न सक्नु हुन्छ । अन्य ठाउँमा पनि मैले गरेको देखेको छु । हाम्रो बजारमा के को माग छ । त्यो बस्तु उत्पादन गरेर आर्थिक आर्जन गर्न सकिन्छ ।’
यस्तै लुम्बिनी प्रदेश सरकारले २ वर्षमा २ लाखलाई रोजगारी सृजना गर्ने उद्देश्यका साथ अगाडि बढेको भन्दै उनले महिलाहरूसँग सम्बन्धित सबै रोजगारी भएको समेत उल्लेख गरे । उनले भने,‘ हस्तकला, कृषि क्षेत्र, साना तथा मझौला उद्यमहरूमा होलान् । तर, तपाईँहरू महिला दिदीबहिनीहरू कुनै न कुनै क्षेत्रमा जोडिनुहोस् । त्यसमा लागि म आफ्नो तर्फबाट पहल गर्नेछु । यस्तै उनले दैनिक ८ घण्टा अन्य काम गरेर पनि सामूहिक उद्यमीमा कम्तिमा २ घण्टा समय दिए पुग्ने समेत बताए ।
यस्तै समय अनुसार बदल्नु पर्ने भन्दै उनले समय अनुसार हामीलाई ढाल्न सकेपछि मात्र समाजको विकास हुने बताए । सामुदायिक भवनहरू आफैमा निर्माण हुँदा राम्रो देखिने भएयता पनि त्यसको उचित व्यवस्थापन नहुँदा जीर्ण अवस्था हुने भएकाले यसलाई राम्रोसँग ध्यान दिन समेत उनले आग्रह गरे ।
उनले भने,‘ बनाउँदा जति खटेर बनाइएको हुन्छ । यस्ता भवनको संरक्षणको लागि पनि त्यतिकै खट्नु पर्छ । धेरै ठाउँमा यस्ता सामुदायिक भवनहरू बनेका छन् । तर, राम्रोसँग स्याहार नगर्दा जीर्ण भएका छन् । अब जीर्ण भएका भवनहरू पनि सरकार आएर बनाइदिन्छ, भन्ने सोच्नु भएन । यहाँको समुदायले यसको संरक्षणमा ध्यान दिनु पर्छ ।’
यस्तै प्रदेशमा अहिले पोषणको कमीले कुपोषित बच्चाहरू जन्मिदाँ चुनौति थपिएको भन्दै उनले यहाँ भएको आमा समुहहरूलाई पोषणयुक्त बस्तुहरू उत्पादन गरेर बजारिकरण गरि उद्यम बन्न आग्रह गरे । उनले भने,‘ प्रदेशमा अहिले चुनौतीको रुपमा कुपोषण कमी भएका बच्चाहरू र महिलाहरूको मातृमृत्युदर समेत बढेको छ । त्यस सम्बन्धी काम गर्न आग्रह गर्दछु । ’ यस्तै उनले तुलसीपुर रहेको यातायात ब्यवस्था कार्यालय तुलसीपुर मै रहने समेत स्पष्ट पारे । उनले भने,‘ अहिले तुलसीपुरदेखि बाहिर जाँदै छ, भन्ने हल्ला रहेको छ । तर, कार्यालय तुलसीपुरमा रहेको गाइडरमा कार्यालयमा नै रहन्छ । एक हजार जनासम्म बस्न मिल्ने सभाहल पनि निर्माण हुँदैछ । मुख्यमन्त्री लगायत हामी सबैले पहल गरेका छौँ ।’
यस्तै उनले तुलसीपुर एयरपोर्ट विस्तारको लागि प्रदेश सरकारबाट पहल भइरहेको भएयता पनि प्राविधिक समस्या भएको बताए । उनका अनुसार सरकार सहभागी भएको ३ महिना भएको छ । तर, कतिपयहरूले नबुझेर आजको आजै एयरपोर्ट भएन भन्ने गरेका सुनका छौँ । उनले,‘ सिमा, सेना, ठूला तथा साना एयरपोर्टहरू संघीय सरकारको कार्यक्षेत्र भित्र पर्दछन् । देशमा अहिले तिन वटा सरकारहरू रहेका छन् । हामीले प्रदेश सरकारको तर्फबाट एयरपोर्टको विकासका लागि छलफल गरेका छौँ । एयरपोर्टका लागि तफ मोडालिटी तयार गर्न र स्थानीय सरकारले सामुदायिक बन र कपास विकास समितिको जग्गा आफ्ना नियन्त्रणमा राख्ने कुरा भएको छ । ’
प्रदेश सरकारले एयरपोर्ट विकासका लागि अहिले १२ करोड बजेट छुट्टाएको भएयता पनि एयरपोर्टको मोडेल क्लियर नहुँदासम्म बजेट टेन्डर गर्न नमिल्ने समेत बताए । त्यो बजेट संघीय सरकारसँग मिलेर नै खर्च गर्नु पर्ने समेत बताए ।
उक्त भवन आमा समुह, टोल विकास संस्था लगायत विभिन्न ब्यक्तिहरूको सहयोगमा २५ लाख २० हजार ५८ रुपैयाँमा सम्पन्न भएको हो ।