बसको ठक्करबाट १० वटा गाईगोरु मरे

कपिलवस्तु । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका  ३ खरखरेमा बसको ठक्करबाट १० वटा गाईगोरु मरेका छन्। काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसले सडकमा रहेका चौपायालाई ठक्कर दिएको बताइएको छ।

मङ्गलवार राति अन्दाजी २ बजे भएको घटनाबाट ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चारवटा गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ। मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ। कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम रहेको छ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस