‘स्मार्ट छोरी’ कार्यक्रम स्थागित

तुलसीपुर । तुलसीपुर उपमहानगरले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम ‘स्मार्ट छोरी’ कार्यक्रम हाल स्थगित गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ २०७७ साउन १ गतेदेखि सुरु भएको यो कार्यक्रम हाल स्थगित भएको हो । बिहे वारी २० वर्ष पारी भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिकाले ’स्मार्ट छोरी’ कार्यविधि बनाएर यो कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम सुरु भएदेखि स्मार्ट छोरीको नाममा बैक खाता सञ्चालन गरि बार्षिक रुपमा २ हजार ४ सयका दरले रकम जम्मा हुदै आएको थियो । तुलसीपुर उपमहानगरपालिकाले उनीहरूको बैक खातामा सुरु वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुई सय र पछि दोब्बरले वृद्धि गरी वार्षिक दुई हजार ४ सयका दरले जम्मा गर्दै आएको थियो । उक्त रकम २० वर्ष पछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्ने गरि कार्यविधि बनाईएको थियो ।

निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको पालामा कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै लागु भएको यो कार्यक्रम अहिले बजेट अभावमा रोकिएको हो । उपमहानगरले आगामि बर्षका लागि यो कार्यक्रम रोकिएको जानकारी गराउन सबै वडाहरुमा पत्र पठाएको छ । असार १५ गते नै १९ वटै वडाहरुलाई कार्यक्रम स्थगन बारे पत्र पठाएको महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिईन ।

आगामि बर्ष २०८०्०८१ का लागि विविध कारणले कार्यक्रम स्थगन भएको सूचना प्रदान गरिदिनुहुन आदेशानुसार अनुरोध छ शाखा प्रमुख श्रेष्ठद्धारा हस्ताक्षर गरिएकोे पत्रमा उल्लेख गरिएको छ । हाल उपमहानगरमा बजेटको अभावका कारण यो कार्यक्रम स्थगन गरिएको बताईन्छ । यद्यपी नगर प्रमुख टिकाराम खड्काले भने केहि परीमार्जन गर्नुपर्ने आवस्यकता रहेको बताएका छन ।

यसबारेमा नगरसभामा समेत छलफल भएको थियो । बजेटको अभाव देखाउदै कार्यक्रम स्थगन गरिएको हुदा नगर प्रमुख टिकाराम खड्काको आलोचना हुन थालेको छ । कतिपयले एमालेबाट निर्वाचित घनस्याम पाण्डेले अघि सारेको कार्यक्रम एमालेबाट नै नगर प्रमुखमा निर्वाचित टिकाराम खड्काले स्थगन गरेकोमा आश्चर्य समेत प्रकट गरेका छन ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस