घुमन्ते मिस्रीका कारण आर्थिक मार्मा पर्यौ : फर्निचर व्यवसायी

दाङ । तुलसीपुर क्षेत्रमा रहेका फर्निचर व्यवसायी हरूले घुमन्ते व्यवसायीका कारण फर्निचर व्यवसाय आर्थिक मारमा परेको भन्दै नियमनका लागि पहल गरिदिन आग्रह गरेको छ । फर्निचर व्यवसायीहरूले बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्समा ध्यानाकर्षण पत्र बुझाउदै घुमन्ते फर्निचर व्यवसायीहरूलाई नियन्त्रणको लागि पहल गरिदिन आग्रह गरेका हुन ।
फर्निचर तथा फर्निसिङ व्यवसायी समिति तुलसीपुरका अध्यक्ष तिलक बहादुर खड्काको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे र चेम्बरका अध्यक्ष टोप बहादुर घर्तिलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
सो अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले आफ्ना व्यवसायीहरूलाई परेको समस्यामा तुलसीपुर उद्योग वाणिज्य संघ सधैँ भरि साथमा हुने हुँदा यो समस्या समाधानका लागि टिम बनाएर अगाडि बढ्ने बताए । चालिसेले संघले प्राप्त गरेको ध्यानाकर्षण पत्र सम्बन्धित नियामक निकायमा पठाउने र टिम बनाएर काम गरेकै ठाउँमा पुगी सामान जफत वा त्यस्ता घुमन्ते मिस्री वा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै तुलसीपुर चेम्बरका अध्यक्ष घर्तिले फर्निचर व्यवसायीहरूका मागमा आफूहरू सकारात्मक रहेको भन्दै नियमनका लागि पहल गर्ने बताए ।