भूम्या पर्वको अवसरमा भोलि रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा

दाङ । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा प्रदेशका २ जिल्लामा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ ।  प्रदेशले शुरुमा एउटा सूचना जारी गरि दाङसहित ३ जिल्लामा सार्वजनिक बिदा  भनेर जनाएको थियो ।

तर, उक्त सूचनालाई पुनः सच्याउँदै फेरि दाङलाई कटाइ २ जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको मन्त्रालयका सचिव लालबाबु कवारीले जनाएका छन् ।  मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन् । भुम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै नाच्ने चलन छ । वैशाखदेखि भदौको हरेक संक्रान्तिमा  भूम्या मनाउने प्रचलन रहे पनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस