२०८० असोज ५ गते शुक्रवार

निःशुल्क स्वास्थ्य शिविर

दाङ ।  बबई गाउँपालिका १ कुम्बासका अमर बहादुर पुन नातिनीलाई उपचार गर्न बिहानै हापुरे आइपुगेका थिए । कुम्बासबाट हापुरेसम्म आउनको लागि करिब ५ /  ६ घण्टा लाग्छ, भने गाडीमा आउने २ सय रुपैयाँ भाडा लाग्छ । बबई गाउँपालिकाको हापुरेमा १६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङको एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

पुनले आइतबार मात्र स्वास्थ्य शिविर हुने थाहा पाएपछि कानको समस्या भएकी नातिनीलाई उपचार गर्न आएको बताए । उनले भने,‘ अहिलेसम्म आयुर्वेदिक उपचार गरेका छैनौँ । तर, यहाँ सबैको उपचार हुने थाहा पाएपछि नातिनीलाई ल्याएर आएको हुँ । अन्य समयमा कुनै समस्या भएमा मेडिकल तथा अस्पतालमा जान्थ्यौँ । तर, यहाँ आज आयुर्वेदिक अस्पतालले निःशुल्क उपचार गर्ने भनेपछि आएका हौँ । ’ उनले आयुर्वेदिक उपचारबाट पनि निको हुने विश्वासका साथ उपचार गर्न आएको बताए । यस्तै,  उनले आफूहरूको ठाउँमा स्वास्थ्य, सडक लगायतका समस्याहरू रहेको समेत बताए ।

उनले गाउँमा एउटा स्वास्थ्य केन्द्र भएयता पनि त्यहाँ जानको लागि पनि एक घण्टा समय लाग्ने र सबै सेवाहरू नहुँदा उपचारको लागि हापुरे वा तुलसीपुर आउनु पर्ने बाध्यता रहेको सुनाए । उनले भने,‘ अहिले त गाडीहरू सञ्चालन भएका छन् । हापुरेसम्म आउनको लागि २ सय रुपैयाँ भाडा लाग्छ । तर, बर्खामा गाडीहरू सञ्चालन हुँदैनन् । केही भयो, भने ५ /  ६ घण्टा हिँडेर आउनु पर्ने बाध्यता छ । हामीले यो समस्या भोग्न लागेको धेरै वर्ष भयो । तर, अहिलेसम्म कुनै सेवा सुविधा पाउन सकेका छैनौँ ।’

यस्तै बबई गाउँपालिका ४ हापुरेका सिम बहादुर थापाका प्रेस र सुगरका बिरामी हुन् । उनले पनि अहिलेसम्म एलोप्याथिक पद्धतिबाट उपचार गर्दै आइरहेको भन्दै पहिलो पटक आयुर्वेदिक सेवा लिन लागेको बताए । उनले आयुर्वेद पद्धतिबाट गरिने उपचारको बारेमा जानकारी नहुँदा आम नागरिकले कम विश्वास गर्ने गरेको समेत बताए ।

आफूले प्रेस र सुगरको धेरै उपचार गरेको भएयता पनि खासै सहज नभएपछि आज निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गर्न आएको समेत उनले बताए ।  उनले भने,‘ समाजमा मानिसहरू आयुर्वेद भन्दा एलोप्याथिक उपचार राम्रो हुन्छ, भन्ने कुराले गर्दा पनि हामीले आयुर्वेदलाई कमै मात्रामा विश्वास गर्ने गरेका हुन्छौँ । तर, मेडिकल तथा अस्पतालमा उपचार गर्दा तत्काल निको भएपनि त्यो औषधिले पछि असर त गर्छ नै । तर, आयुर्वेदिक उपचारमा समय लाग्ने र पुरै निको हुने भएयता पनि हामीले यसको विश्वास गर्न सकेका छैनौँ ।

त्यसैले यसको बारेमा नागरिकहरूलाई बुझाउन जरुरी रहेको छ । ’ यस्तै अर्का बबई ४ हापुरेका जित बहादुर वलीले पनि आम नागरिकहरूलाई आयुर्वेद उपचारको बारेमा जानकारी नहुँदा नै आकर्षण कम हुने गरेको बताए । उनले आयुर्वेदको प्रभावकारिता राम्रो भएयता पनि यसको बारेमा नागरिकहरू बुझाउन राज्यले ध्यान दिनु पर्ने समेत उल्लेख गरे ।

उनले भने,‘ अहिले गाउँबस्तीहरूमा आयुर्वेदिक भन्दा एलोप्याथिक उपचार गर्ने ठाउँहरू धेरै हुँदा पनि नागरिकहरूले कुनै समस्या भएमा त्यही उपचार गर्न जान्छन् । जसले गर्दा पनि आयुर्वेदिक उपचार प्रति विश्वास कम रहेको हो । तर, यसका लागि सरकारले आम नागरिकहरूलाई बुझाउन जरुरी रहेको छ । फेरि एलोप्याथिक पनि हाम्रा लागि उत्तिकै महत्व पनि छ । ’

यस्तै उनले एलोप्याथिक भनेको समस्यालाई चाँडै कम गर्ने भएयता पनि आयुर्वेदिक उपचारले समय लाग्ने र रोगलाई निमूर्ल पार्ने भएकाले पनि यसका बारेमा बुझाउनु पर्ने समेत बताए ।  उनले आजको स्वास्थ्य शिविर कार्यक्रमले नागरिकहरूमा यसको विश्वास बढ्ने समेत बताए । उनले यसको बारेमा आम नागरिकहरूलाई जानकारी दिनको लागि यस्तो शिविरहरू समय समयमा हुनु पर्ने समेत बताए ।

आयुर्वेद सेवाबाट बञ्चित नागरिकको लागि स्वास्थ्य शिविर

आयुर्वेद सेवाबाट यहाँका नागरिकहरू बञ्चित भएको हुँदा त्यो सेवा दिनेका लागि एक दिने शिविरको आयोजना गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालय निमित्त प्रमुख डा. सन्तोष कुमार ठाकुरले बताए । आयुर्वेद उत्कृष्ट सेवा भएको भन्दै यसको प्रचार प्रसारको लागि ३ तहका सरकारले ध्यान दिनु पर्ने समेत उनको भनाइ छ । उनका अनुसार आयुर्वेद औषधि दिने चिकित्सा नभइ जीवन शैली व्यवस्थापन देखि औषधि विना पनि केही रोगहरू निको हुन्छ, भन्ने कुरा बुझाउन जरुरी रहेको छ । यस्तै उनले आयुर्वेदको विकास र विस्तारको लागि राज्यले ध्यान दिनु पर्ने समेत बताए ।

उनले भने,‘ आयुर्वेद चिकित्सा पद्धतिले अहिले धेरै प्रभावकारी रुपमा काम गरेको पाइन्छ । आज हामीले विशेषज्ञ चिकित्सक सहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । यो ठाउँमा आयुर्वेदको विशेषज्ञ सेवा पनि पुगेको छैन् ।’ शिविरमा ७ सय ७६ जना नागरिकहरूले सेवा तथा र परामर्श लिएको समेत उनको भनाइ छ । शिविरमा विशेष गरी नसा, ढाड कम्मर दीर्घरोगी तथा महिला प्रसुतिको बढि समस्या देखिएको बिरामीहरूले सेवा लिएको समेत उनले बताए । यो शिविरले आफूहरूलाई आयुर्वेद चिकित्सा सेवामा थप गर्नु पर्ने हौसला बढेको पनि उनको भनाइ छ ।

आयुर्वेद चिकित्सा स्वास्थ्य सुधारमा निकै महत्वपूर्ण भूमिका खेल्छ

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले आयुर्वेद पद्धतिको स्वास्थ्य शिविर गाउँपालिकामा पहिलो पटक भएको बताए । उनले आयुर्वेद चिकित्साले जनताको स्वास्थ्य सुधारमा निकै महत्वपूर्ण भूमिका खेलेको समेत बताए । उनले आयुर्वेदिक केन्द्र वडा नं. ६ मा सञ्चालन भइरहेको भन्दै त्यहाँबाट पनि नागरिकहरूले सहज रुपमा सेवा लिइरहेको बताए । उनले भने,‘ आयुर्वेदिक पद्धतिमा नेपाल जस्तो जडिबुटीको प्रमुख सम्भावना रहेको देशमा यसको राम्रोसँग विकास गर्न सकेमा हामीले स्वास्थ्यको लागि वैदेशिक उपचार पद्धतिसँग जोडिन पर्दैन । त्यसका लागि पनि यसको विकास र विस्तारसँग प्रचार प्रचार आवश्यक रहेको छ ।’

यस्तै उनले गाउँपालिकाले आयुर्वेदिक चिकित्साको लागि कुनै काम नगरेको भन्दै अब आउँदो दिनहरूमा काम गर्ने समेत बताए । उनले भने,‘ आयुर्वेदिक भन्दा नागरिकहरूले एलोप्याथिकको बढि विश्वास गरेको पाइन्छ । कुनै पनि समस्या भएमा ति औषधि खाएमा तत्काल निको हुन्छ । यसको पनि आफ्नै महत्व रहेको छ । अब हामीले आयुर्वेद चिकित्साको लागि पनि काम गर्ने छौँ ।’ यस्तै गाउँपालिकाका नागरिकहरूले एलोप्याथिक सेवाको सन्दर्भमा जनरल सेवा पाइरहेको समेत बताए । उनले गाउँपालिकाभित्र दुई वटा स्वास्थ्य चौकी र एउटा अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरू रहेको समेत बताए ।

उनका अनुसार स्वास्थ्य सेवा सहज पु¥याउनको लागि आर्थिक तथा जनशक्तिको अभाव रहेको छ । यस्तै उनले वडा नं. १ मा यातायात, सञ्चार जस्ता कुराहरूको समस्या हुँदा त्यहाँका नागरिकहरूलाई भने जस्तो सेवा नपाएको समेत बताए । उनले भने,‘ बबई नदिमा पुल नहुँदा बर्खामा त्यहाँका नागरिकहरूले तत्काल स्वास्थ्य सेवा पाउन सक्दैन । त्यसमा पनि फोनको नेटर्वकले काम गर्दैन । जसले गर्दा पनि उनीहरूलाई समस्या हुने गरेको छ । तर, हामीले हाम्रो तर्फबाट सक्दो काम गरिरहेका छौँ ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस