विकासमा ऐक्यबद्धता आवश्यक : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले विकासमा ऐक्यबद्धता आवश्यक रहेको बताएकी छिन् । बिहीबार नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८० को उद्घाटन गर्दै मन्त्री शर्माले चुनावी प्रतिस्पर्धा रहे पनि विकासमा ऐक्यबद्धता रहेको बताएकी हुन् । उनले जनताको भरोसा टुट्न नदिने भन्दै चुनावका बेला अभिव्यक्त गरिएका अभिव्यक्ति चुनावी अभिव्यक्ति मात्र नभई समृद्ध दाङका लागि अभिव्यक्त गरिएका पनि बताइन् ।
उनले भनिन्,‘ जसलाई मैले भुलेको छैन । निर्वाचनका बेला भएका प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हो ? जनप्रतिनिधिका रूपमा चुनिएपछि सबैको साझा हुने भएकाले आम नागरिकका अपेक्षा, चाहना साझा रहन्छन् । अहिले म साझा व्यक्ति र साझा एजेन्डा लिएर उभिएकी छु । ’ उनले लमही –घोराही – तुलसीपुरको फोर लेन सरकारको पहिलो प्राथमिकता रहेको समेत बताइन् । ‘ फोर लेन सडकलाई सरकारले पहिलो प्राथमिकतामा लिएको छ । सरकारले यसलाई संवेदनशील रूपमा लिएको छ,‘ उनले थपिन् ।
उनले फोर लेन सडकलाई राजनीतिक मुद्दा बनाएर अतिरञ्जनात्मक नगर्न आग्रह गरिन् । नागरिकका रचनात्मक दबाव भएमा सरकारलाई ध्यानाकर्षण गराउन जनप्रतिनिधिलाई सहज हुने उनको भनाइ छ । फोर लेन सडकको कार्य प्रगतिका सन्दर्भमा मन्त्री शर्माले यथाशीघ्र ठेक्का तोडिने र नेपाल सरकारले बोलपत्र आह्वान कार्य प्रक्रिया अगाडि बढाउने पनि उनले बताइन् । रोड फ्रि नगरेसम्म सरकारले काम गर्न नसकिने प्रावधान रहेकोले सरकारले पहिलाको ठेक्का सम्झौता तोडेर रोड फ्रि बनाएर पहिलो चरणमा बिग्रिएको बाटो मर्मत गर्ने समेत उनको भनाइ छ । जिल्लाको लाइफ लाइनका योजना अन्तर्गत खाङ्ग्रा नाकादेखि नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकार सरकारले प्राथमिकताका साथ लिएको पनि उनले बताइन् ।
त्यस्तै उनले सकेसम्म तुलसीपुरको एयरपोर्ट बिस्तार गरिने तर, प्राविधिक कारणले बिस्तार गर्न नसके दाङभित्रैको जमिनमा विकल्प खोजिने पनि समेत बताइन् । उनले सामाजिक भत्ता कटौतीका भ्रम फिजाइएको प्रति आपत्ति प्रकट गर्दै यस्तो भ्रम नफिँजाउन पनि समेत आग्रह गरिन् । नारायणपुर क्षेत्रमा हाट बजार सञ्चालनका लागि संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवको पहिलो दिन विभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी, टोल विकास समिति, विभिन्न संघ संस्था तथा विद्यालयहरूले र्याली गरेका थिए ।
मन्त्रीलाई ज्ञापन पत्र
दाङको नारायपुरस्थित दुरसंचार टोल विकास समितिले मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको छ । टोल विकास समिति र दुरसञ्चार कार्यालय नारायणपुरबिच चरिचरण र खलियानको रूपमा उपभोग रहेको जग्गा दुरसञ्चार कार्यालयका लागि उपलब्ध गराउँदा भएको सहमति कार्यान्वयन सहजीकरण गरिदिनका लागि मन्त्री शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरिएको हो । सडक कालो पत्रे गर्दा र सडकको दुबै किनारमा नाला निर्माण गर्दा लागतको पचास प्रतिशत रकम दुरसञ्चारले ब्यहोर्ने लिखित सहमति भए पनि दुरसञ्चार कार्यालयले सहमति कार्यान्वयन नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।