पालिका र एन एमबी वित्तीय संस्थाबीच सम्झौता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका र एन एमबि वित्तीय संस्थाबीच कृषि र उद्यमशीलताको क्षेत्रका काम गर्नका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र संस्थाका कार्यकारी निर्देशक आनन्द पाण्डेले हस्ताक्षर गरेका हुन् ।
नगरप्रमुख टीकाराम खड्काले किसानहरुलाई बिना धितो सहुलितमा ऋण,कृषकहरुको उत्पादकत्व बढाउने गरेर संस्थासंग सम्झौता गरिएको बताए । उनले सम्झौतापछि बढ्दो बेरोजगारी समस्याको अन्त्य र कृषिजन्यवस्त्को बढ्दो आयातलाई घटाउनका लागि थप सहयोग पुग्ने बताए । संस्थाका कार्यकारी निर्देशक आनन्द पाण्डेले सम्झौतामा कृषिजन्य वस्तुको बजारीकरण, वित्तीय साक्षरता ,सीप दक्षता,ऋण व्यवस्थापन , कर्जा सुरक्षा र कृषकहरुलाई प्राविधिक ज्ञानको व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताए ।
कृषि शाखाका प्रमुख धनराज गौतमले बैङ्कबाट कृषि क्षेत्रमा लिएको ऋण सहीरुपमा सदुपयोग भएको अवस्थामा मात्रै किसानले उत्पादन गर्ने वस्तुमा बढ्ने र किसानको ऋण जोखिममा नपर्ने बताए । सम्झौता पत्रमा आय आर्जनका लागि व्यवसाय सञ्चालनका लागि संस्थाको नियमअनुसार कर्जा उपलब्ध गराउने, बजारको मागअनुसार उत्पादकत्व विषयमा पालिका, कृषि ज्ञान केन्द्र र संस्थाबीच समन्वय गरेर वित्तीय परामर्श दिने उल्लेख गरिएको छ ।