सुनसान बन्दै एकदमै भिडभाड हुने कार्यालयहरु

दाङ । निकै भिडभाड हुने सरकारी कार्यालयहरू हिजो आज सुनसान हुन थालेका छन् । कुनैपनि काम गर्दा २÷३ दिनसम्म समय लाग्ने मालपोत कार्यालय तुलसीपुरमा भने सेवाग्राही सेवा लिन कमै मात्रामा आउने गरेका छन् । पछिल्लो समय देशमा भएका आर्थिक मन्दीका कारण सेवाग्राही सेवा लिन आउने क्रम घटिरहेको कार्यालयले जनाएको छ । करिब एक महिनादेखि मालपोत कार्यालय सुनसान हुँदै आएको कार्यालयका प्रमुख कर्ण बहादुर नेपालीले बताए । उनका अनुसार आर्थिक मन्दीका कारण सुनसान भएको हुनसक्छ । आर्थिक मन्दीका कारण अहिले जग्गा खरिद बिक्रीको कारोबार खासै नभएको पनि उनको भनाइ छ ।

उनले भने, ‘अहिले सेवाग्राहीहरू जग्गा खरिद बिक्रीको लागि भन्दा पनि रोक्का, फुकुवाको काम गर्न आउने गरेका छन् । अहिले खरिद बिक्रीको काम न्यून मात्रामा भएको छ । उनका अनुसार अन्य समयमा दैनिक एक सयसम्म जग्गाको रजिष्ट्रेशन हुने भएयता पनि अहिले दिनमा १५÷ २० वटा जति हुने गरेको छ । आर्थिक मन्दीका कारण जग्गाको कारोबार हुन नसक्दा पनि राजश्व पनि एकदमै कम मात्रामा उठिरहेको उनले बताए । उनले भने,‘ विगतका समयमा दैनिक १५÷२० लाख राजश्व संकलन हुन्थ्यो । तर, अहिले दैनिक १÷२ लाखको राजश्व संकलन हुन्छ ।

कार्यालयमा दर्ता स्रेस्ता र जग्गाधनी प्रमाण पुर्जा दिने कागजको अभाव
केही दिनदेखि कार्यालयमा राख्ने स्रेस्ता र जग्गा धनी पुर्जा दिनको लागि कागजको अभाव भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख नेपालीका अनुसार यो कागज विभागले उपलब्ध गराउने भएयता पनि आफूले पटक पटक माग गर्दै आइरहेको भएयता पनि अहिलेसम्म आएको छैन् । उनले भने,‘ मैले माघ महिनामा १० हजार प्रति मगाएको थिए । तर, ५ हजार प्रति मात्र आएको थियो । त्यो पनि अहिले सकिएको छ । असारसम्मको लागि अहिले ५ हजार प्रति माग गरेका छौँ । अहिलेसम्म आएको छैन् । विभागमा बुझ्दा ठेकेदार मार्फत कागजको छपाई हुने र ठेकेदारले विभागमा नबुझाएको र अहिले विभागमा स्टक नभएको हुँदा २÷४ दिनमा पठाउने कुरा आएको छ ।’

कागज नहुँदा सेवाग्राहीहरूलाई समस्या भइरहेको समेत उनको भनाइ छ । उनका अनुसार कुनै सेवाग्राहीले जग्गा पास गरेर बैंकमा पुर्जा राख्न खोज्छन् । तर, बैंकमा राख्नको लागि पुर्जा चाहिन्छ, कागज नहुँदा सेवाग्राहीले समस्या पाएको उनको भनाइ छ । उनले अहिले जग्गा पास गर्ने बित्तिकै लालपुर्जा लिएर जाने सेवाग्राहीहरू कागज नहुँदा फेरि अर्को पटक लिन आउनु पर्ने बाध्यता रहेको पनि बताए । उनले भने, ‘अहिले जग्गा पास गरेका सेवाग्राहीले हातमा लालपुर्जा लिन पाएका छैनन् । ’

कागज नहुँदा सेवाग्राही समस्यामा
तुलसीपुर १९ का पदम वलीले जग्गा नामसारी गर्नको लागि मालपोत कार्यालयमा आएको बताए । उनले कार्यालयमा जग्गाको पुर्जा दिनको लागि स्रेस्ता कागज नहुँदा समस्या भएको बताए । उनले भने, ‘हामीलाई मालपोतमा स्रेस्ता कागज सकिएको थाहा थिएन । सबै काम पुरा भयो । तर, लालपुर्जा भने कागज अभावका कारण पाउन सकिएन ।’ यस्तै उनले यस्तो जनतासँग प्रत्यक्ष जोडिएको कार्यालयमा कागज अभाव हुँदा नागरिकहरूले समस्या पाएको भन्दै कसले र कहाँबाट आउने कागज हो ? त्यो तुरुन्त व्यवस्थापन हुनु पर्ने बताए । ‘आज जग्गाको नामसारी भएको छ । तर, लालपुर्जा ल्याउन अर्को दिन आउनु पर्ने भयो,’ उनले भने, ‘यस्तो कार्यले नागरिकहरूले सास्ती पाउने भए । सहज रुपमा सेवा पाएको भएयता पनि लालपुर्जा फेरि आउनु पर्ने अवस्था रह्यो । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।’ यस्तै हिजोका दिनहरूमा जस्तो अहिले भिडभाड नहुँदा सेवा सहज रुपमा पाइएको समेत उनले बताए ।

लेखापढी व्यवसायी अमरराज रोकाले पनि कार्यालयमा स्रेस्ता कागज नहुँदा सेवाग्राहीहरूलाई समस्या भइरहेको बताए । उनले राज्यले छिट्टो भन्दा छिट्टो कागज उपलब्ध यो समस्या समाधान गर्नु पर्ने समेत बताए । उनका अनुसार यो समस्या करिब एक हप्तादेखि भइरहेको छ । उनले जग्गा पास भएपनि स्रेस्ता नहुँदा सेवाग्राहीले लालपुर्जा नपाउने गरेको समेत बताए । यस्तै उनले आर्थिक मन्दीका कारण पनि अहिले कमै मात्रामा जग्गाको कारोबार हुने गरेको बताए । उनले भने, ‘अहिले देश कै अवस्था नाजुक अवस्थामा रहेको छ । यस्तो समयमा मानिसहरूले कसरी जग्गा किन्न सक्छन् । अब मानिसहरूले पहिला आफ्नो पेट पाल्नलाई प्राथामिकता दिने थालेका छन् । देशको स्थिति के हुने हो ? भनेर सबै अन्योलमा रहेको बेलामा जग्गाको कारोबार हुने कुरै भएन ।’ उनका अनुसार विगतको वर्षहरूको तुलनामा अहिले करिब ७५ प्रतिशत जग्गाको कारोबार घटेको छ ।

उनले भने, ‘पहिला सेवाग्राहीलाई २÷ ४ दिन समय लाग्थ्यो । तर, अहिले एकदिनमा सबै काम हुन्छ । आर्थिक मन्दीका कारण अहिले धेरै असर परेको छ । अहिले बाहिर पैसा कोहीसँग छैन् । बैंकले ऋण दिँदैनन्, दिए पनि महँगो ब्याज छ । अनि यस्तो समयमा कसरी जग्गाको कारोबार होला ।’ यस्तै अर्का लेखापढी व्यवसायी बसन्त केसीले अहिले मन्दीका कारण जग्गाको कारोबार नहुँदा मालपोत कार्यालय सुनसान हुने गरेको बताए । एकातिर आर्थिक मन्दी र अर्कोतर्फ बैंकले पनि ऋण दिन रोकेका कारण पहिलाको तुलनामा अहिले जग्गाको कारोबार धेरै घटेको उनको भनाइ छ । पहिला हुने कामको तुलनामा अहिले आधा कामहरू घटेको पनि उनले बताए । यस्तै उनले पनि केन्द्रले कार्यालयमा स्रेस्ता नपठाउँदा सेवाग्राहीहरूलाई लालपुर्जा दिन समस्या भएको बताए । उनले भने, ‘कुनै मानिसले पुर्जा निकालेर तत्काल कुनै काम गर्न खोजमा उसले पुर्जा नपाएर समस्या पाएको छ । तर, यसका लागि केन्द्रले ध्यान दिनुपर्छ । हामीले यस समस्याका बारेमा कार्यालय प्रमुखलाई भन्दै आएको छौँ । दुई÷चार दिनमा आउने भन्दै गरेको भएयता पनि अहिलेसम्म आएको छैन् । ’

यातायात कार्यालयमा पनि सुनसान बन्दै, नयाँ दर्ता न्यून
यस्तै तुलसीपुर रहेको यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राहीहरू आउने क्रम घट्दो रहेको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख कालिदास बस्यालका अनुसार विगत ३÷४ महिनादेखि कार्यालयमा नयाँ गाडी दर्ता अत्यन्त न्यून मात्रमा हुने गरेका छन् । उनले भने,‘ म जता जान्छु अहिले उतै सुनसान देख्ने गरेको छु । अहिले बजार पनि सुनसान अवस्थामा देख्छु । हाम्रो कार्यालयमा पनि दिन दिनै सेवाग्राही आउनेक्रम घट्दो रहेको छ । ३÷४ महिना भयो । नयाँ ठूला गाडी दर्ता भएका छैन् । साना मोटरसाइकल मात्र केही मात्रामा दर्ता भएका छन् । यो सबै आर्थिक मन्दीका कारण हुनसक्छ ।’

अहिले कार्यालयमा नामसारी, ठाउँसारी, करतिर्नेको लागि मात्र सेवाग्राहीहरू आउने गरेको पनि उनको भनाइ छ । उनका अनुसार कार्यालयमा दैनिक एक हजार भन्दा बढि सेवाग्राहीहरू सेवा लिने आउने गरेका थिए । अहिलेको अवस्था हेर्दा दिनदिनै घट्दै गएको हुँदा सुनसान बन्दै गएको छ । यस्तै उनले सेवाग्राही घट्दै गएपनि राजश्व सङ्कलनमा पनि प्रत्यक्ष असर पार्ने समेत बताए । अहिले नयाँ दर्ता गर्नेको राजश्व पुरै बन्द भएको अवस्था रहेको भन्दै यस्तै अवस्था रहेमा प्रदेशको विकास निर्माणमा समेत असर पुग्नसक्ने उनको भनाइ छ । उनले भने,‘ नयाँ गाडीहरू ल्याउने भनेको सोरुमहरूले हो । तर, उनीहरु बैंकसँग जोडिएका हुन्छन् । बैंकको ऋण प्रवाह अहिले बन्द भएको र ब्याज पनि धेरै भएको अवस्थामा आर्थिक चलायमान नहुँदा सबै कारोबार बन्द भएको जस्तो मलाई लागेको छ ।’

दिनप्रतिदिन सटरहरू बन्दै हुँदै गए : उद्योगी व्यवसायी
तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले अहिले देशमा भएको आर्थिक मन्दीका कारण दिनप्रतिदिन बजारका सटरहरू बन्दै हुँदै गएको बताए । पछिल्लो समय युवाहरू विदेश जाने क्रम बढिरहेको र देशमा कृषि क्षेत्रमा उत्साहपूर्ण उत्पादन नहुँदासम्म देशको अर्थतन्त्र चलायमान नहुने पनि उनको भनाइ छ । राज्यले कृषि क्षेत्रमा राम्रो दृष्टि पु¥याउन नसक्दा अहिले देशमा यस्तो समस्या आएको पनि उनको आरोप छ ।

उनले भने, ‘आर्थिक क्षेत्रको चलायमान गराउने भनेको कृषि क्षेत्र हो । तर, यहाँ किसानहरूले खेतीपाती गर्दा समय मै मल, सिँचाइ पाउँदैनन् । आफ्नो तरिकाले खेती गरेपनि प्रकृतिले पनि नोक्सान गरिदिन्छ । राज्यको ध्यान यतातिर पुगेको देखिदैन । किसानले उत्पादन भएको बस्तुबाट नै सबै कुराहरू चलायमान हुने हो । अन्नपात उत्पादन नभएपछि कसरी उद्योगको सञ्चालन हुन्छ । जसले गर्दा अहिले सबै क्षेत्र बन्द हुने अवस्थामा पुगेका छन् ।’ बैंकहरूमा प्राप्त पैसा छैन् । त्यसमा पनि मानिसहरूमा पैसा नहुँदा अहिले दिनप्रतिदिन बजारहरू सुनसान भइरहेको अवस्था छ । यस्तै देशबाट निर्यात भन्दा आयत धेरै हुँदा र अहिलेको ३ तहको सरकार हुँदा पनि राज्यलाई खर्च चलाउन धौ भएको उनको भनाइ छ ।

आफूले तेल तथा मैदानको उद्योग सञ्चालन गरिरहेको भन्दै विगतका वर्षहरूमा भन्दा अहिले ५० प्रतिशत कारोबारमा कमी भएको समेत उनले बताए । उनले भने,‘ यस्तै अवस्था रहिरहेका अझ तल झर्ने अवस्था रहेको छ । बजारमा पैसा छैन् । हामीले तोरी, गहुँ, धान किसानसँग नगद हालेर किन्नु पर्छ । हामीले उत्पादन गरेको वस्तु उधारोमा बच्नु पर्छ । यदि उधारो नदिएमा अर्कोले दिइहाल्छ । एक महिनालाई दियो । एक वर्षसम्म पैसा आउँदैन । कति दिन उधारोमा बचेर व्यवसाय गर्न सकिन्छ ।’ उनका अनुसार बैंकहरूको ब्याजदर महँगो हुँदा समान पनि महँगो हुन्छ । अनि व्यवसायीहरूले जहाँ सस्तो पाउँछन्। त्यहीबाट लैजान्छन् । जसले गर्दा पनि ठूला उद्योगी व्यवसायीहरूलाई समस्या हुने गरेको छ । राज्यले अहिले बैंकहरूमा बढेको ब्याजदरका बारेमा सोचेर सबैलाई सहज हुने गरी बनाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार
प्रतिक्रिया दिनुहोस