तुलसीपुरका १९ वटै वडामा वाकीटकी वितरण

दाङ ।  तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच पुर्‍याउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ । विपद्को समयमा सञ्चार पहुँच टुटेको अवस्थामा सहजै सञ्चार सुविधा पुर्‍याएर तत्कालै राहत उद्धारका लागि वाकीटकी वितरण गरेको हो । प्रत्येक वाकीटकीमा वडा अनुसार कल साइनको व्यवस्था गरिएको छ । तुलसीपुर आपतकालीन सञ्चालन केन्द्र, दमकल रूप र नगरप्रमुख सचिवालयमा एक एक वटा वाकीटकी राखिएको छ । उपमहानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष र सचिवहरूलाई प्रशिक्षण गरेर वाकीटकी वितरण गरेको हो ।

  विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले २३ वटा वाकीटकी सेट ९ लाख ३१ हजारमा खरिद गरिएको बताए ।  उनले बाढी पहिरो, आगलागी, भूकम्प जस्ता विपद्को तत्काल उद्धार र राहतका लागि वाकीटकी वितरण गरिएको बताए । नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा बाढी पहिरो र आगलागीको विपद्को सामना गर्दै आएको अवस्थामा वाकीटकीबाट सम्बन्धित निकाय र क्षेत्रमा सूचनाको पहुँच पुग्ने बताए । उनले प्रत्येक वडामा राहत उद्धारका लागि तत्कालै सम्पन्न गर्नका लागि प्रभावकारी रहने बताए । 

तयार नेपालले आपतकालीन कार्य सञ्चालनका लागि ति सामाग्रीहरू प्रदान गरिएको हो । प्रति सेटलाई ४० हजार ५ सय रुपैयाँमा खरिद गरिएको तयार नेपालका फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले बताए । तयार नेपालले यससँगै ५ लाख ९६ हजार बराबरको रिपिटर पनि उपलब्ध गराइएको छ । ति वाकीटकीले सम्बन्धित वडाबाट ५ किलोमिटर दूरीसम्म सूचना प्रदान गर्न मिल्छ ।   

यस्तै जुनसुकै आपतकालीन घटनाहरू हुँदा वाकीटकीको प्रयोग मार्फत सहजै रुपमा ३ / ४ सेकेन्डमै सूचना थाहा पाउन सकिने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक खिम बहादुर विष्टले बताए । उपमहानगरपालिकाले आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिएको छ । पश्चिम दाङका ४ स्थानीय तह  शान्तिनगर, बबई, दंगीशरण मध्य उपमहानगरपालिकामा मात्रै दमकल सञ्चालन गरेको छ । 

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस