वन डढेलो नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया

दाङ ।वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले मंगलबार घोराहीमा जिल्लाका सबै सरोकारवाला निकायसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले दाङ वन डढेलोको जोखिम जिल्लामा पर्ने भएकाले सबै तहको समन्वय र सहकार्यबाट आगलागीका घटना हुनै नदिने र भइहाले कम भन्दा कम क्षति हुने गरी नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

जिल्लामा बर्सेनी वन डढेलोका घटना भइरहने तथा घटना नियन्त्रणका जिम्मा सरकारी निकायको मात्रै हो भने जसरी लाग्ने प्रवृत्ति रहेको भन्दै अव सबैको सहकार्यबाट अघि बढ्ने प्रतिवद्धता सरोकारवाला निकायले गरेका छन । वन क्षेत्र समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माको सभापतित्व एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाङमा भएको वन डढेलोको अवस्था, नियन्त्रण लागि भइरहेको प्रयास र अबको रणनीतिको विषयमा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले जङ्गलमा नियत वस आगो लगाउने गर्दा नियन्त्रणमा गर्न समस्या हुने गरेको बताए  । उनका अनुसार ६४ प्रतिशत जङ्गलमा आगलागी नियत वस हुने गरेको छ ।  जङ्गलमा राम्रो बिरुवा उत्पादन हुने, झारपात सफा हुने, जंगली जनावरको सिकार गर्ने, च्याउ उत्पादन हुने लोभमा आगो लगाउने गरेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।  आगलागी भएसँगै नियन्त्रणका लागि कठिन भौगोलिक बनावटका कारण झन  समस्या छ । दाङका वनमा तत्काल आगो लागेमा नियन्त्रणका लागि सडक नहुँदा, दमकल, पानी ट्यांकर लैजान सकिने सडक सुविधा छैन । जनशक्तिको समेत अभाव भएको उनको भनाई छ ।

वन डढेलो लाग्नुको मुख्य कारणहरूमा समय मै खर घाँसको संकलन हुन नसक्नु, चोरी शिकारीको मनसाय, गोल पोल्ने, मेलामा आउने जानेको लापरवाही, हानिकारक वन्यजन्तुवाट जोगिन, राम्रो घाँस तथा च्याउ उमार्न जाने रै आगो लगाउने भएकाले पनि वन डढेलो नियन्त्रणमा चुनौती देखिएको हो । यस्तै चुरोट, खाएर ननिभाई ठुटा फाल्ने, मनोरञ्जनका लागि आगो बाल्ने ननिभाई छोड्ने, टावर सुरक्षाका लागि आसपासका झाडी सफा गर्ने, निकुन्ज सिमाना र निजी काल्ना बारीमा व्यवस्थापनका लागि आगो लगाउने, अरिङ्गाल पोल्ने, मौरीको चाका निकाल्ने क्रममा पनि डढेलो लाग्ने गरेको उनले जानकारी दिए  ।

कार्यक्रमका प्रमुख घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीले सामुदायिक वन समूहका माध्यमबाट वनको संरक्षण र विकासमा महत्वपूर्ण काम भइरहेको भन्दै वन डढेलो नियन्त्रणका लागि पनि स्थानीयसँगको समन्वय र सहकार्य जरुरी रहेको बताए ।  पानीका मुहान संरक्षण गरी कृषिका माध्यमबाट आयआर्जन बढाउनका लागि उपमहानगरपालिकाले थालेको ड्याम बनाउने अभियानले वन डढेलो नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गाउँतहमा बस्ने मानिसहरूको सहभागि र उनीहरूसँग राज्यका निकायले समन्वय गरी समन्वय र सहकार्यबाटै वन डढेलो कम गर्न सकिने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे ।

जिल्ला समन्वय प्रमुख शर्माले सबै तहका सरकार र स्थानीयको सहकार्यबाट वन डढेलो नियन्त्रण हुने भन्दै आफूले दाङमा वन डढेलोका घटना कम गर्नका लागि आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रममा डिभिजन वन कार्यालय वन डढेलो नियन्त्रण सहयोगी पम्पलेट र ब्रोसर पनि लोकार्पण गरिएको थियो ।   सहायक वन अधिकृत भक्तबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन महासङ्घका पदाधिकारी, सामुदायिक वन समूहका पदाधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वन कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सहायक वन अधिकृत खिमबहादुर केसीले गरेका थिए ।

अग्नि नियन्त्रक सामाग्री हस्तान्तरण 

डिभिजन वन कार्यालय दाङ वन डढेलो नियन्त्रणमा सहयोग गर्न आगो निभाउन प्रयोग गरिने सामाग्री बितरण गरेको छ । सुरक्षा निकाय र अग्नि नियन्त्रणका लागि समूह स्तरमा गठित ४ वटा समूह र सञ्जाल गरी ८ वटा निकायलाई सामाग्री हस्तातरण गरेको हो ।  सुनपुर, अम्बिकेश्वरी, बिजौरी र पुरन्धारा सव डिभिजन वन स्तरीय समूह– सञ्जाल र नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी वल र वन तथा वातावरण संरक्षण गणलाई कार्यालयले वन डढेलो लागेपछि निभाउन प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठले जानकारी दिए ।

हरेक समूहलाई हेलमेट, क्वाटर, पानी बोकेर छर्कने ट्याङ्की, पञ्जा लगायतका १५ थरिका सामाग्री बितरण गरिएको थियो ।  कार्यालय दाङको कार्य क्षेत्रमा रहेका ८३  वटा सामुदायिक वन डढेलोको हिसाबले उच्च जोखिम, ४६ वटा मध्यम र ४४ वटा सामुदायिक वन न्यून जोखिममा छन । गर्मीयामको समय शुरु भयसँगै वन डढेलोका घटना शुरु हुने गरेको र तीमध्ये ६४ प्रतिशत वन डढेलोका घटना नियतबस हुने गरेको प्रमुख श्रेष्ठले बताए ।

वन डढेलो नियन्त्रणका लागि दाङ आम सञ्चारका माध्यमबाट प्रचार प्रसार, अग्नि रेखा निर्माण र सरसफाइ, स्थानीय समूह सञ्जाल गठन गरी उनीहरूलाई सचेतना मूलक कार्यक्रम सञ्चालन, वन व्यवस्थापन, विद्यालयमा पुगेर स्कुल शिक्षा कार्यक्रम लगायतका कार्यक्रम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस