इन्टरनेट र केबुलका तारहरू व्यवस्थापन नगरे विद्युत प्राधिकरणले लाइन र तार काटिदिने

दाङ ।  नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तुलसीपुर बजार र मुख्य हाइवेका रहेका तारहरू व्यवस्थापन नगरेमा लाइन काटिदिने चेतावनी दिएको छ । तुलसीपुर बजार र पूर्वमा ग्वारखोला, पश्चिममा हापुरे , उत्तरमा राम्री र दक्षिणमा दमारगाउँसम्म सडकमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटका तारहरू व्यवस्थापन गर्न आग्रह गर्दै आएको केन्द्रले जनाएको छ । पटक पटक आग्रह गरेको भएयता पनि अहिलेसम्म काम नभएको भन्दै आइतबार विद्युत केन्द्रले तुलसीपुरमा रहेका नेपाल दूर सञ्चार केन्द्रसहित ११ वटा कम्पनीहरूलाई कार्यालयमा पुगेर तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

बजारमा रहेका तारहरूले बजारको सुन्दरतालाई असर गरेको र जमिनदेखि तार नजिकै भएकाले दुर्घटनाको जोखिम बढ्ने भएकाले आफूले पटक पटक आग्रह गर्दै आएको भएयता पनि अहिलेसम्म कुनै काम नभए पनि केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले बताए । यस्तै विद्युत पोलमा अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्नु पर्ने र प्रयोग नहुने तारहरूलाई हटाउनु पर्ने उनको भनाइ छ । व्यवस्थापनको लागि उनीहरूलाई केही समस्याहरू भएयता पनि ति समस्याहरू आफूहरूले हल गरिदिने पनि उनले बताए । यस्तै उनले तार व्यवस्थापनको लागि काम गर्न सुरुवात गरेमा आफूहरूले साथ र सहयोग गर्ने भन्दै यदि नगरेको खण्डमा कार्यालयको विद्युतको लाइन काटुनका साथै तारहरू इन्टरनेटको तार पोलबाट काट्न बाध्य हुने समेत बताए ।

उनले भने,‘ यस्तो पनि भेटिएको छ । कुनै घरमा इन्टरनेट तार बिग्रिएमा त्यो तारलाई त्यही पोलमा छाडेर फेरि अर्को तार जोडिएको छ । तार जमिन भन्दा थोरै माथि छन् । जसले गर्दा सवारी साधन तारका कारण दुर्घटना हुन सक्छन्, भने अव्यवस्थित तारले बजारको सुन्दरता पनि बिगार्छ ।’ आइतबार इन्टरनेट सेवा प्रदायकको कार्यालयमा पुगेका प्रमुख फर्सालले यही १७ गतेभित्र केबुल तथा इन्टरनेटका तारहरू व्यवस्थित नगरे विद्युत लाइन काट्ने चेतावनी दिए । उनले १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्नेदेखि कार्यालयमा समेत पत्र पठाउँदा कुनै काम नभएपछि आफै कार्यालयहरूमा पुगेर मौखिक र लिखित जानकारी लिएका थिए । प्राधिकरणले काटेको पत्रमा १७ गतेभित्र काम सुरु गरे या नगरेको विवरण सहित छलफलका लागि विद्युतको कार्यालयमा उपस्थित हुन भनेको छ । त्यसपछि पनि कुनै सुनवाई नभए विद्युत लाइन काट्ने प्राधिकरणले कडा रुपमा चेतावनी दिएको छ ।

प्राधिकरण र सेवा प्रदायक निकायकाबीच २०७९ मंसिर २७ गते एकहप्ता भित्र तार व्यवस्थित गर्न सहमति भएको थियो । विद्युतको पोलहरुमा विस्तार गरिएका तारहरू अस्तव्यस्त रहँदा बजारको सौन्दर्यता हराउँदै जाने र कम उचाइमा विस्तार गरिएका तारले दुर्घटनाको जोखिम बढेको भन्दै प्राधिकरणले तार व्यवस्थित गर्न पहल कदमी थालेको हो । प्राधिकरणले तोकेको क्षेत्रभित्र नेपाल टेलिकम, स्वर्गद्धारी, भायोनेट, सुविसु, टेकमाइण्ड, ओपन स्काई, टिपी लिंक, नियोलिक, वल्ड लिंक, डिस मिडिया नेटवर्क, एनसेल, र एभरेष्ट वायरलेस कम्पनीले इन्टरनेटका तारहरू बिस्तार गरेका छन् । प्राधिकरणले अस्तव्यस्त रुपमा रहेका इन्टरनेट र केबुलका तारहरूलाई व्यवस्थित गर्न फागुन ८ र चैत्र २ गते सार्वजनिक सूचना जारी गरि सकेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस