प्रलेस दाङद्वारा चैत ३ को सम्झना

दाङ ।  २०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरूले चैत ३ गतेको सम्झना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रजातन्त्र पुनःस्थापनाका लागि खेलेको भूमिकाको सम्झना गरेको हो । २०४६ साल चैत ३ गतेका दिन साहित्यकारहरूले व्यवस्थाको विरोधमा सडकमा आएर राजनीतिक आन्दोलनलाई अघि बढाउनका लागि योगदान गरेको सम्झनामा हरेक वर्ष चैतको ३ गते लेखक दिवस मनाउने गरिन्छ । प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवं प्रलेस केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै शर्माले साहित्यकारहरूले सत्ताको गडबडी विरुद्ध जहिले पनि खबरदारी गरिरहनुपर्ने बताए  । उनले राणाशासनको विरुद्धमा लेखनीका माध्यमबाट खबरदारी गरेका साहित्यकारहरू पञ्चायती व्यवस्थाको विरुद्ध सडकमा आएर संघर्ष गरेको बताए ।  २०४६ साल चैत ३ गतेका दिन युद्धप्रसाद मिश्र, पारिजात सत्यमोहन जोशी, शक्ति लम्साल, आनन्ददेव भट्ट लगायत करिव दुई सय साहित्यकारहरू एकसाथ विरोधमा आएको स्मरण गर्दै शर्माले पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा बामपन्थी र प्रजातान्त्रिक आस्थाका लेखकहरू एक साथ सडकमा आएको बताए ।  

कार्यक्रममा बोल्दै राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासीले चैत ३ गतेको दिन साहित्यकारहरूका लागि मात्रै नभएर नेपालको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक दिन भएको चर्चा गरे । उनले राजनीतिक दलहरूले गरेको आन्दोलनमा उभार नआईरहेको अवस्थामा साहित्यकारहरू सडकमा आएपछि आन्दोलनको रूप नै परिवर्तन भएको बताए ।  लेखक कलाकारहरू सडकमा आएपछि राज्य सञ्चालकहरू डराएको भन्दै उदासीले पञ्चायती व्यवस्थाको विरुद्धमा लेखक साहित्यकारहरूले गरेको संघर्ष र योगदानलाई भुल्न नहुने चर्चा गरे ।

उनले  बामपन्थी र प्रजातान्त्रिक शक्तिहरू मिलेर पञ्चायती व्यवस्थाको विरोधमा लागेको भएपनि त्यो आन्दोलनमा जन सहभागिता नवढी रहेको अवस्थामा साहित्यकारको सहभागिताले आन्दोलनमा उर्जा थपेको बताए । लेखक, साहित्यकारहरूसंग शासकहरू डराउने गरेको उनको धारणा थियो ।

कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले नेपालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरूलाई राजनीतिक नेतृत्वले भुल्ने गरेको बताए ।  उनले साहित्यकारहरूले दवाव र जागरणको अभियानलाई सधैँ अघि बढाइरहनु पर्ने बताए । यस्तै राप्ती साहित्य परिषदका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, साहित्यकार तथा पत्रकार शारदा शर्मा, सुशीला आचार्य र रञ्जिता अधिकारीले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्ली बस्नेत सङ्गीतले गरेका थिए ।
 
प्रलेसले पारिजात र कृष्ण सेनलाई सम्झने

यसैबीच प्रलेस दाङको शुक्रबार घोराहीमा बसेको बैठकले आगामी बैशाखमा प्रगतिवादी साहित्यकार पारिजातको सम्झनामा तुलसीपुरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रमका लागि सचिव डिल्ली बस्नेत संगीतलाई संयोजनको जिम्मेवारी दिइएको छ । यस्तै साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी जेठमा कार्यक्रम गर्ने र सो कार्यक्रमको संयोजकका रुपमा उपाध्यक्ष रेशम विसीलाई चयन गरिएको छ ।  बैठक प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता एवं केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको थियो । 

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस