दाङमा निसासिएर एक महिलाको मृत्यु

दाङ । दाङमा निसासिएर एक महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका  ५ देविस्थान बस्ने  ४० वर्षीया पार्वती घर्तीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

एक कोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए । उनको  घर गाउँ भन्दा झन्डै एक डेढ सय मिटर टाढा एकान्त ठाउँमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन ।

स्थानीयका अनुसार  मृतक घर्तीले सधैँ मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गरेका हुँदा मापसे गरेको समयमा चुरोट खाएर ठुटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर कोठामा धुँवा भरीदा  निसास्सिएर मृत्यु भएको जस्तो अवस्था देखिएको प्रहरीले बताएको छ ।

उनको शरिरमा भने कतै नजलेको पनि प्रहरीको भनाइ छ । भित्र चुकुल लगाइएको ढोका फोडेर हेर्दा उनी ढोका नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनका ३  वटा छोराहरू रहेपनि उनीहरु सबै मजदुरीका लागि काठमाडौंमा रहेको हुँदा उनीहरु आएपछि मात्रै शवको पोस्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ । छोराहरूलाई खबर भइ सकेको र छोराहरू आउन लागेको प्रहरीले बताएको छ । शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस