युएईमाथि १७७ रनको कृतिमानी जितसँगै नेपालले ४ वर्षका लागि जोगायो ओडिआई मान्यता

काठमाडौं । युएईमाथि किर्तिमानी जित दर्ता गर्दै नेपालले आगामी ४ वर्षका लागि ओडिआई मान्यता पक्का गरेको छ । घरेलु मैदान त्रिपुरेश्वर स्थित क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत आइतबारको खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) लाई १ सय ७७ रनले विजयी प्रापत गरेको हो । नेपालसँगको हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

जितको लागि २ सय ४९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएई २२ दशमलव ५ ओभरमा ७१ रनमा अल आउट भएको थियो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए । यो युएईको ओडिआई इतिहासको सवैभन्दा कम योगफल हो । यसअघि युएईको सबैभन्दा कम योगफल २०१८ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटमा ९१ रनमा अल आउट भएको थियो ।

यो नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा १ सय ५१ रन थियो । नेपालले उक्त कीर्तिमान तोडेको हो ।

स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए । यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो । वृत्य सुरुवातमै आउट भए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्किएका थिए ।

मोहम्मद वासिम ललितको पाँचौं ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई ८–४ को दयनीय अवस्थामा पुगेको छ । सन्दीपले १४ औं ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा एलबीडब्लू आउट गरेपछि ३४/५ को संकटमा पुगेको थियो । आयन खान, अश्रन्त वल्थपा १४ र जवार फरिद दुई रनमा आउट भएपछि युएई ६२/२ को अवस्थामा पुगेको थियो ।

नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७ दशमलव ५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । नेपालबाट पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि चौथो बलर बनेका छन् । सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९ दशमलव २ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।

रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओडिआईमा ७-७ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ओडिआईमा ४–४ अर्धशतक प्रहार गरेका थिए ।

पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि ब्याटिङमा निकै दबाबमा पर्यो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् ।

पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । एक समय २२–३ को अवस्थामा पुगेको नेपाललाई नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाउन पुगे । एक समय ७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । रोहन मुस्तफाको बलमा ठूलो सट खेल्नेधुनमा आसिफ खानबाट लङअनमा क्याच आउट भएका थिए ।

गुलशन झा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । गुलशन जहुर खानको योर्कर बलमा बोल्ड भएका थिए । दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । युएईका आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८।२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिए ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का बनेको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । यो हारसँगै युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई अव प्लेअफमा शीर्ष चारमा पर्न सकेमात्रै आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ ।

अंक तालिका : स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस