धारपानीमा महाशिव रात्री मेला सुरु, मदिरा बेचबिखन र सेवनलाई निषेध

दाङ । दाङको प्रशिद्ध तिर्थस्थल धारपानीमा शुक्रबारदेखि महाशिव रात्री मेला सुरु भएको छ । विगतका वर्षमा शिवरात्रिका दिन मेला लाग्दै आएकोमा यस वर्ष ३ दिन सम्म मेला सञ्चालन गर्ने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
जस अनुसार बिहानैदेखि सयौँ भक्तजन तथा व्यापारीहरूको चहलपहल सुरु भएको छ । मेलालाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति गठन गर्नुका साथै सुरक्षा ब्यवस्था समेत मजबुत पारिएको पाण्डेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव तथा प्रवक्ता विष्णु राम आचार्यले जानकारी दिए ।
मेलालाई भव्य र व्यवस्थित बनाउन १८ वटा बिभिन्न उप समिति गठन गरी परिचालन गरिएको छ । मेलामा यातायात व्यवस्थापन अन्तरगत पार्किङ शुल्क र व्यापारका लागि स्टलको दररेट समेत तोकिएको छ । यस्तै मेला अवधिभर फागुन ५,६ र ७ गतेका लागि मोटरसाइकलका लागि रु १०, अटो रिक्सा तथा टेम्पोका लागि रु २५ ,जिप तथा कारका लागि रु ३०, सानो ठुलो ट्रेक्टरका लागि रु ५० र मिनिवस, वस तथा ट्रकका लागि एक सय रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । मेलामा मदिरा बेचबिखन तथा सेवनलाई निषेध समेत गरिएको छ ।
फाुगन ४ गते राती १२ बजेदेखि फागुन ७ गते राती १२ बजेसम्म पूर्वमा धार्मिक बनको सिमाना भलाई सोता, पश्चिममा पिच सडक, उत्तरमा बबई नदि र दक्षिणमा धार्मिक बन सिमाना सम्म मदिरा बन्यजन्तुको बेचबिखन तथा सेवनमा निषेध गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।