काठमाडौंबाट ३, दाङबाट ८ यात्रु लिएर उड्यो ‘सीता’

दाङ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्न सुरु गरेको छ । बुधबारदेखि उडान भरेको एयरले अब हप्तामा तीन दिन उडान भर्ने छ । एयरका क्षेत्रिय प्रबन्धक विनोद मिश्रका अनुसार सोमबार, बधबार र शनिबार उडान भर्नेछ ।

योसंगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने भएको छ । यसअघि नेपाल एयरलाईन्सले आईतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको छ । पहिलो दिन सीता एयरमा दाङबाट काठमाडौं ८ जना र काठमाडौंबाट दाङ आउँदा ३ जना यात्रु सवार थिए ।

अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउँदा ८ हजार एकसय भाडा तय भएको छ । मिश्रका अनुसार काठमाडौंबाट दिउँसो १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउँसो साढे १ बजे उडान भर्नेछ ।

माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान भनेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक–पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् ।

हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भइ सञ्चालनमा पनि आइसकेको छ । तर, भाडा भने घट्न सकेको छ्रैन् । नेपाल एयरलाईन्सले दाङदेखि काठमाडौंको न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार १० रहेको छ । हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई रहेको धावनमार्ग पनि विस्तारका लागि पहल भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस